ई–आर्थिक, काठमाडौं । सर्लाहीको मलंगवामा रहेको सहारा विकास बैंक र काठमाडौंको दरबारमार्गमा रहेकोे देबः विकास बैंकको मर्जर भाँडिएको छ ।
सहारा विकास बैंकले देबः विकास बैंकसँग मर्जर नगर्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्र पठाएसँगै दुबै बैंक बिचको मर्जर भाँडिएको हो । साहराका प्रमुख कार्यकारी अधिकृत विनयकुमार साहले देवःसँग गरिएको सम्झौता भंग गरिएको नियामक राष्ट्र बैंकलाई पत्राचार मार्फत जानकारी गराएका हुन् ।
सहाराले यसअघि जनकपुरमा रहेको जानकी फाइनान्ससँग मर्जमा जान प्रयास गरेको थियो । तर त्यो प्रयास पनि सफल हुन नसकेपछि नभएपछि देवःसँग सम्झौता गरेको थियो । अहिले मर्जर भाँडिनुमा बैंकले एक अर्कालाई आरोप लगाएका छन् । बिच आरोप सहाराकै कारण मर्जर भाँडिएको देव बैंकले बताएको छ । यद्यपी सहारा बैंक यसलाई स्वीकार्ने पक्षमा छैन ।
यसैबीच दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था र रुपन्देहीको मनकामना लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन ।
मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरीले गाभ्ने र गाभिने समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
स्मार्टको चुक्ता पूँजी एक करोड ४० लाख रुपैयाँ रहेको छ भने मनकामनाको ६ करोड ८२ लाख ५० हजार रुपैयाँ चुक्तापुँजी रहेको छ । दुबै वित्तीय संस्था गाभिएपछि मनकामना स्मार्ट लघुवित्त बन्ने भएको छ । दुबैं लघुवित्त मर्ज भएपछि चुक्तापुँजी आठ करोड २२ लाख ५० हजार पुग्नेछ । सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि भने मनकामना स्मार्टको कुल पूँजी करिव १२ करोड ५ लाख रुपैयाँ पुग्नेछ ।
सम्झौताअनुसार मर्जरपछि बन्ने लघुवित्तको केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहनेछ भने अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुनेछ । स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ । मर्जरपछि संचालक समितिमा ३÷३ जनाको प्रतिनिधित्व रहने पनि सहमति भएको छ ।
एक बराबर एकको स्वाप रेसियोमा गाभिन लागेका लघुवित्तहरुले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति पछि सोही अनुरुप तयारी पनि गर्न थालिसकेका जनाएका छन् ।
सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आए आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने समेत संझौता गरिएको समझदारीपत्रमा उल्लेख गरिएको छ ।
मनकामनाको कर्जा करिव ४७ करोड, बचत ११ करोड बचत र सदस्य ८ हजार रहेका छन् । त्यसैगरी स्मार्टको कर्जा १४ करोड, बचत ७ करोड र सदस्य ७ हजार सदस्य रहेका छन । त्यस्तै मनकामनाका शाखा १६ वटा रहेका छन् भने स्मार्टको शाखा संख्या ७ रहेको छ ।
मनकामना १८ महिनाअघि संचालनमा आएको थियो भने स्मार्ट गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई विगत ८ महिनादेखि सञ्चालनमा हुँदै आएको छ ।