२०८३ साउन ९ शनिबार

औद्योगिक ‘हब’ बन्दै मेचीनगर

ई आर्थिक    आइतबार, साउन २६ २०७६
1.5K
Shares
औद्योगिक ‘हब’ बन्दै मेचीनगर
चन्द्रकला भण्डारी, २०७६ साउन २६ गते, भद्रपुर । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ। यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन्। उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल बढेको छ।

मेचीनगर वडा नं. १३ दुहागढीमा मनषा थाईफुड्स प्रालिले तयारी चाउचाउको उत्पादन शुरु गरेको छ। रु दुई सय करोड लगानीमा खुलेको यो उद्योगमा ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारीको अवसर पाएको सञ्चालक बुद्धि घिमिरे बताउँछन्।

नगरमा दर्जनभन्दा बढी प्लाईउडका कारखाना सञ्चालनमा छन्। कर्मचारी र कामदार गरी हरेक प्लाइउड कारखानामा सयौँले रोजगारी पाएका छन्। सञ्जीवनी, सिद्धार्थ लगायतका प्लाइउड कारखाना ठूलो लगानीमा खुलेका हुन्।

पूर्वमै सबैभन्दा बढी सिमेन्ट उद्योग मेचीनगरमै सञ्चालनमा रहेका छन्। हिमालयाज, सनराइज, मेगा र गोरखकाली उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टले प्रदेश नं. १ को ठूलो माग धान्दै आएको छ। सिमेन्ट उद्योगहरूमा करीव पाँच सयले प्रत्यक्ष रोजगारी पाएका छन्। कतिपय प्राविधिक कामदार भारतबाट आउने गरे तपनि पछिल्लो समयमा उद्योगहरूले स्वदेशी कामदारलाई नै प्राथमिकता दिने गरेका छन्।

सनराइज र हिमालयाज सिमेन्ट उद्योगका महाप्रबन्धक अमित पोद्दारका अनुसार सनराइजले वार्षिक डेढ लाख र हिमालयाजले ७५ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। ती दुबै उद्योगमा १६० स्वदेशी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन्।

पशु र पक्षीको आहाराको रूपमा दाना उत्पादन गर्ने उद्योगहरू पनि मेचीनगरमा खुल्ने क्रम बढेको छ। भ्याली एग्रो फिड्स प्रालि नामक दाना उद्योग मेचीनगर–१३ मा रु. ४५ करोडको लगानीमा तीन महिना अघि स्थापना भएर आफ्नो उत्पादनलाई बजारमा पुर्याउन थालिसकेको छ। उद्योगले कुखुरापालन गर्नुका साथै अण्डा र चल्ला उत्पादन समेत गर्दै आएको छ।

उद्योगका सञ्चालक सुबोध निरौलाले गाईभैँसी, सुँगुरबङ्गुर र कुखुराका लागि आवश्यक पर्ने दाना प्रति घण्टा १० मेट्रिक टनका दरले उत्पादन भइरहेको जानकारी दिए। कुखुराको अण्डा र मासुमा नेपाल आत्मनिर्भर भइसकेको हुँदा भारतबाट कुखुरा र अण्डाको अवैध आयात रोक्न सबै लाग्नुपर्ने उनको भनाइ छ।

मेचीनगर–१० मा दैनिक पाँच हजार जोडा जुत्ता उत्पादन गर्ने क्षमता भएको एसियन फुटवेयर प्रालि नामक कारखाना भर्खरै खुलेको छ। प्रालिका अध्यक्ष छवि पौडेलले रु. १० करोड लगानीमा उद्योग स्थापना गरिएको र ७५ जना स्थानीय कामदारले प्रत्यक्ष रोजगारी पाइरहेको जानकारी दिए।

सुरक्षित लगानीको वातावरण बनेपछि मेचीनगरमा उद्योगी व्यवसायीहरू आकर्षित भइरहेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउँछन्। उनका अनुसार भारतबाट कच्चा पदार्थ आयात गर्न भन्सार विन्दु नजिक हुनु र मुलुकभित्र लगानी सुरक्षाको वातावरण सिर्जना हुनुले मेचीनगर औद्योगिक ‘हब’को रूपमा विकसित भइरहेको छ।

मेची उद्योग वाणिज्य सङ्घमा आर्थिक वर्ष २०७५/०७६ मा ३८४ वटा व्यावसायिक फर्म थपिएको तिम्सिना बताउँछन्। उनले नगरमा चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुब्रिकेन्ट्स उद्योगहरू धमाधम खुल्ने क्रममा रहेको बताए।

मेचीनगर भारत, भूटान र बङ्गलादेशसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध भएको व्यापारिक नाका भएको हुँदा यहाँ पाँचतारे होटल र क्यासिनो खुल्ने क्रम चलिरहेको छ। मेचीनगर–७ मा मेची क्राउन नामक पाँचतारे होटलको निर्माण अन्तिम चरणमा रहेको छ।

काँकरभिट्टा, धुलाबारी, चारआली लगायतका बजारमा सनराइज, कन्काई, एक्सेल, प्रभु, एनआइसी एसिया, माछापुच्छ्रे, सिद्घाथर्, ग्लोबल आइएमई लगायतका बैङ्कका शाखा छन्। बैंकहरूले उद्योगमा लगानी प्रवद्र्धन गरिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij