ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष र सीईओहरुका लागि अधिकतम उमेर हद तोक्दै राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेको हो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै आज नयाँ उमेर हद तोकेको हो ।
राष्ट्र बैंकले सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ ।
राष्ट्र बैंकको गरेको नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्रै काम गर्न पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार ६९ वर्ष नाघेका कुनै पनि व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल हुन पाउने छैनन् । राष्ट्र बैंकले गरेको यो व्यवस्थाले एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धर प्रभावित हुने देखिएको छ ।