ई–आर्थिक, काठमाडौं । सहयोगी विकास बैंकका सञ्चालक दिपेन्द्रकुमार यादव ‘दिपु’लाई पक्राउ पुर्जी जारी गरिएको छ । यादवले राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा धनुषा जिल्ला अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।
धितोको रुपमा जग्गा दिने लालबाबु रौनियारले आफ्नो जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सेवाग्राहीलाई न्याय हुने गरी लामो समयपछि अदालतले फैसला गरेको छ । यो फैसलासँगै मुद्दाको किनारा लाग्ने प्रक्रियामा पुगेको छ ।
अदालतले उनलाई जालसाजी तथा ठगी गरेको अभियोगमा अभियुक्त दिपुलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जग्गा यादवलाई दिई ५० लाख रुपैयाँ ऋण लिएका थिए । केही वर्षभित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले लिएको ५० लाख रुपैयाँ केहि वर्षपछि ब्याज सहित ७३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । तर पनि उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि दिपुमाथि मुद्दा दायर गरेका थिए ।
उक्त जग्गा यादवले २ करोड ७० लाख रुपैयाँ बेचिसकेका खुलेको छ । पीडित रौनियारले पटक–पटक यादवलाई जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बेवास्ता गर्दै आलटाल गरेपछि उनले जिल्ला प्रशासन सहित विभिन्न ठाउमा हुँदै अदालतमा समेत मुद्दा दिएका थिए ।
पीडित लालबाबु रौनियारले मुद्धा दायर गरेको लामो समयपछि अदालतले पक्राउ पुर्जी गरेको हो । तर उनले आफुले अहिलेसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।
अदालतले पक्राउ पुर्जी दिए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन । सञ्चालक यादवको घरमा प्रहरीले छापा मारेको जानकारी दिएको छ । यद्यपी उनी फरार रहेकाले पक्राउ पर्न सकेका छैनन् ।

पक्राउ पर्ने डरले यादव फरार रहेको प्रहरीले जानकारी दिएको छ । उनी भारततर्फ बसेको अनुमान प्रहरीको छ । उनी भारतमै बसेर आफ्नो बचाउको प्रयास गर्ने पनि अनुमान लगाइएको छ ।
अदालतको पक्राउ पुर्जी बारे सहयोग विकास बैंक मौन छ । उनलाई बैंक सञ्चालकबाट बर्खास्त गर्ने या नगर्ने भन्ने विषयमा केही निर्णय भइनसकेको बैंक स्रोतले उल्लेख गरेको छ ।
नेकपाका नेता समेत रहेका यादबको राजनीतिक पहुँच बलियो भएका कारण पक्राउ गर्न आलटाल हुने अनुमान लगाइएको छ ।