ई–आर्थिक, काठमाडौं । विगत केही दिनयता सुनको मूल्य बृद्धि हुने क्रम आज पनि रोकिएन । मंगलबार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँ पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।
सोमबारको तुलनामा तुलनामा आज (मंगलवार) ५ सय रुपैयाँले बढेर ६५ हजार ५ सय पुगेको हो ।
यसअघि गत शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा निरन्तर मूल्य बृद्धि भएको हो ।
यसअघि स्थानीय बजारमा १२ भदौ २०७० मा सुन त्यतिबेलाको उच्च भाउ प्रतितोला ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भाउ केही तल झरे पनि सुरु भए पनि अहिले फेरि बढ्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा तेजाबी सुन पनि प्रतितोला ६५ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । असार लागेसँगै सुनको भाउ थप उचाइमा पुगेको हो ।
नेपालमा सुनको भाउ अन्तराष्ट्र्रिय बजारका आधारमा निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । यो मूल्य कहाँ पुगेर टुंगिने भन्ने विषय अन्यौल रहेको छ । यही अवस्था रहे सुनको मूल्य अझै अझै बृद्धि हुने व्यवसायीको अनुमान रहेको छ ।