ई–आर्थिक, काठमाडौं । नेकपा विप्लव समूहले गरेको बन्दको विहानै देशका विभिन्न ठाउँमा बम भेटिएको छ । उदयपुरको सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित बम फेला परेको हो ।
सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको थियो । समयमै डिस्पोज भएपछि पड्किएर हुने मानविय क्षति भने हुन सकेन ।
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको थियो ।

त्यसैगरी कटारीमा तीर्थ श्रेष्ठको घर अगाडी रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ ।
त्यस्तै काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ । बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पनौती र धुलिखेलमा शंकास्पद बस्तु राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।
तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको छ । धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको छ । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको थियो ।
ठूलो आवाज सहित बम पड्किएको स्थानीयले जानकारी दिए ।