- पोखराको होटेलमै पुगेर पनि उद्घाटन नगरी फर्किए प्रधानमन्त्री, ताम्रपत्र अनावरण भएन
- उद्घाटन मञ्चमा एक घन्टा पर्खिएर फर्किए युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा
- उपराष्ट्रपति नन्दबहादुर पुनले यसअघि यस्तै विवादास्पद होटेलको उद्घाटन गरेका थिए
प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थल उत्रिएका थिए । त्यसपछि उनी सीधै लेकसाइडस्थित होटेल स्विस इन्टरनेसनल पुगेका थिए । तर, मापदण्डविपरीत बनेको होटेल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन् ।
प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए । प्रधानमन्त्रीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखसमेत होटेल पुगेका थिए । प्रधानमन्त्री ओली होटेलको सातौँ तलामा गएर बसे । त्यहाँ होटेल उद्घाटन गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्रीले मुख्यमन्त्रीसहित अन्यसँग छलफल गरेपछि उद्घाटन नगर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।
सो होटेल प्रधानमन्त्रीले उद्घाटन गर्ने थाहा पाएपछि पोखरा महानगरले नै असन्तुष्टि जाहेर गरेको थियो । त्यसैले मेयर मानबहादुर जिसीले कार्यक्रममा सहभागी नहुने निर्णय गरेका थिए ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने प्रधानमन्त्रीले होटेल उद्घाटन गर्ने कार्यक्रम नै नभएको बताएका छन् । ‘उद्घाटनमा जाने कार्यक्रम भए त म हिजै मिडियामा समचार पठाउँथेँ नि,’ उनले भने, ‘त्यहाँ खाना खान मात्र गएको हो ।’ तर, होटलको भित्तामा राखिएको ताम्रापत्रमा ‘प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट’ उद्घाटन हुने भनेर लेखिएको छ । तर, प्रधानमन्त्रीले सो ताम्रपत्र अनावरण नगरी हिँडेपछि होटेल व्यवस्थापनले कपडा आफैँ हटाएको छ । प्रधानमन्त्रीले उद्घाटन नगरे पनि अहिले होटेलको ढोकामा रहेको ताम्रपत्रमा प्रधानमन्त्रीले व्यवसाय शुभारम्भ गरेको विवरण छ । यसअघि गत माघमा उपराष्ट्रपति नन्दबहादुर पुनले मापदण्डविपरीत बनेको एक होटेल उद्घाटन गर्दा उनको चर्को आलोचना भएको थियो ।
युवा तथा खेलकुदमन्त्रीले मञ्चमा एक घन्टा कुरे
प्रधानमन्त्रीभन्दा पहिल्यै होटेल पुगेका संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा सीधै मञ्चमा गएर बसेका थिए । सभाकक्षमा पोखराका पर्यटन व्यवसायी, उद्यमी, दलका नेता, पत्रकारसहित दुई सयजना जम्मा भएका थिए । सबै प्रधानमन्त्रीको प्रतीक्षामा थिए । होटेल कर्मचारीले ११ः२० मा प्रधानमन्त्री आउने जानकारी दिँदै सबैलाई खाना खान निम्त्याए । तर, १२:३० मा प्रधानमन्त्री स्काउटको कार्यक्रममा सहभागी हुन होटेलबाट बाहिरिए ।
होटेल सञ्चालक भन्छन् : तला र उचाइसँग के सरोकार ?
स्विस इन्टरनेसनल होटेलका सञ्चालक हुन् प्रा.डा. भरतराज पहारी । उनी त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन हुन् । पहारीले स्रोत नखुलेको ९८ लाख ९३ हजार सम्पत्ति कमाएको ठहर गर्दै विशेष अदालतले गत मंसिरमा सोहीबराबरको बिगो र १० महिना कैदको सजाय सुनाएको थियो । त्यसअघि अकुत सम्पत्ति कमाएको आरोपमा साउन ०७३ मा चार करोड रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले पहारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मापदण्ड मिचेर होटेल बनाएका उनै पहारीलाई पोखरा महानगरले मापदण्ड निर्धारण सिफारिस समितिको संयोजकसमेत बनाएको थियो ।
होटल उद्घाटनबारे जिज्ञासा राख्दा उनले आफ्नो होटेल जनवरीदेखि नै सञ्चालनमा रहेको बताए । उनले होटेल निर्माणमा दुई अर्ब रुपैयाँ लागेको पनि जानकारी दिए । तर, होटेल कति तलाको हो भन्ने प्रश्न गर्दा उनले भने, ‘हत्तेरी ! होटेलको तला किन चाहियो ? उचाइसँग के सरोकार ?’
भत्काउनुपर्ने भवनलाई ३ गुणा जरिवाना लिएर वैधता दिँदै महानगर
पोखरामा स्थानीय तहको निर्वाचनअघि र पछि गरेर मापदण्डविपरीत घर बनाउनेहरूको संख्या ठूलो छ । साढे तीनतला अर्थात् ३५ फिटको नक्सा पास गरेर ८÷९ तलाको घर पनि बनाइएको छ । यस्ता संरचना भत्काउनुपर्ने हो । तर, महानगरले यस्ता घरलाई वैधता दिने प्रक्रिया सुरु गरेको छ । करिब तीन साताअघि एक सूचना निकालेर महानगरले ३ गुणा राजस्व लिएर त्यस्ता घरलाई वैधता दिने जनाएको छ ।
पहिलो चरणमा वडाबाट तथ्यांक संकलन गर्ने, घरको उचाइसँगै दायाँ बायाँ छाडेको क्षेत्र र बनोटको अवस्था हेरी उपयुक्त घरलाई पास गरिने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
नयाँ पत्रिकाबाट