ई–आर्थिक, ५ जेठ, काठमाडौं । गत शुक्रबार पाकिस्तानको सेयर सूचक ८ सय अकंले घटेको छ । बजारको उक्त गिरावट पछिल्लो १७ वर्षयताकै सबैभन्दा बढी भएको पाकिस्तानी समाचार संस्थाहरूले जनाएको छ ।
पाकिस्तानी रुपैयाँको अवमूल्यन सँगै यसको ठूलो असर पाकिस्तानको सेयर बजारमा देखिएको छ ।
स्टक कम्पनीज एशोसिएसन अफ पाकिस्तान (ईक्याप) ले पछिल्लो दुई दिनमा पाकिस्तानी मूल्य अवमूल्ययन बढ्दा सेयर बजार प्रभावित भएको भनेको छ ।
शुक्रबार ३३ हजार ९७१.१२ अकंमा खुलेको बजारमा ८०४.५० अकंको गिरावट आएको थियो । ईक्याप सूचक शुक्रबार २.४३ प्रतिशतले नकारात्मक बनेर ३३ हजार १६६.६२ मा बन्द भएको छ ।
बजारमा देखिएको उथलपुथलले इन्टर बैंक मार्केटमा ठूलो असर परेको थियो । शुक्रबारसहित पछिल्लो दुई दिनमा पाकिस्तानी रुपैयाँको अवमूल्ययन ५ रुपैयाँ भन्दा बढीले गहिरीएको इक्यापले जानकारी दिएको छ । एक डलर बराबर पाकिस्तानी रुपैयाँ १४९ पुगेको छ। खुला बजारमा एक डलरको मूल्य १५१ पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ।
सेयर बजारको उथल–पुथल पिछ पाकिस्तानी प्रधानमन्त्री इमरान खानका वित्तिय मामिला सल्लाहकार डा. हफिज शेखले सेयर बजार कारोबारीसँग कराँचीमा भेट गरेका छन् । बजारका ठूला लगानीकतार्ले बजार सन्तुलनका लागि वित्तीय सल्लाहकार शेखसँग ‘मार्केट सपोर्ट फण्ड’ बनाउन आग्रह गरेका छन्।
त्यसैगरी वित्तीय सल्लाहकार शेख र सेयर लगानीकर्ताले पाकिस्तानको स्टेट बैंकका गभर्नर डाक्टर रजा बकिरसँग पनि भेट गरेका छन् । सेयर बजार डाउनफल रोक्न प्रधामन्त्रीका वित्तीय सल्लाहकार र लगानीकर्ताले सपोर्ट फण्ड, विनिमय दर र व्याजदरका विषयमा गर्भनरलाइ भनेको बताइएको छ । पाकिस्तान स्टेट बैंकले भोली नै आफ्नो मौद्रिक नीति घोषणा गर्ने अन्तिम तयारी गरिरहेकोे छ ।