
मन्त्री अधिकारीकी माता पोखरा विमानस्थलमा
संस्कृति, पर्यटन तथा नागरिक उयनमन्त्री रवीन्प्रसाद अधिकारीसहित टोली सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा बुधबार दुर्घटनाग्रस्त भएको खबर पाएपछि उहाँकी आमा लक्ष्मीदेवीलाई पोखराबाट काठमाडौँ लैजाने क्रममा पोखरा विमानस्थलमा ।
ई–आर्थिक, काठमाडौँ, १५ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।

मन्त्री अधिकारीका पिता पोखरा विमानस्थलमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहितको टोली सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा बुधबार दुर्घटना भएको खबर पाएपछि उहाँका बुबा इन्द्रप्रसादलाई पोखराबाट काठमाडौँ लैजाने क्रममा पोखरा विमानस्थलमा ।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ ।

पर्यटनमन्त्री अधिकारीको घरमा सर्वसाधारण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा बुधबार दुर्घटनाग्रस्त भएको खबर पाएपछि पोखरा – ५ मालेपाटनस्थित मन्त्री अधिकारीको निवासमा पुगेका सर्वसाधारण ।
मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

शव सुकेटार विमानस्थलमा
ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याउने क्रममा ।
शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडिसकेको समेत प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना भएको स्थान विकट भएकाले हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने छ ।

शव सुकेटार विमानस्थलमा ल्याइँदै
ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइँदै ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको अवलोकनपछि ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।

कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । गृह प्रवक्ता सुवेदीका अनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यसैबीच हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको बताइएको छ ।
को–को थिए हेलिकप्टरमा ?
ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोय बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका निजी अंगरक्षक अर्जुनकुमार घिमिरे र हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

सुवेदीका अनुसार मन्त्री अधिकारी र उहाँका अङ्गरक्षक कार्की बाहेक अन्यको शव पहिचान गर्न नसकिने अवस्थामा छ । शव काठमाडौं ल्याउनका लागि नेपाली सेनाको एमआई सेभेन्टिन तथा सिम्रिक एयर र एयर डायनेष्टीको हेलिकप्टर घटनास्थल गएपनि खराब मौसम र भौगोलिक विकटताका कारण अवतरणमा कठिनाई भएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
अधिकारी निवासमा आफन्तजन शोकाकूल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् ।
दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् । शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ लगिएको छ ।
मन्त्री अधिकारी सहित भएको हेलिकप्टर दुर्घटनाले यतिवेला मुलुकै स्तब्ध भएको छ ।