२०८३ साउन ९ शनिबार

अन्तरिक्षमा बन्यो पहिलो होटल

ई आर्थिक    सोमबार, माघ १४ २०७५
3.5K
Shares
अन्तरिक्षमा बन्यो पहिलो होटल
चिरञ्जीवी आचार्यकाठमाडौं । अन्तरिक्षमा बनेको पहिलो होटल हालै सार्वजनिक गरिएको छ । आगामी २ वर्षको अवधिमा ९५ लाख डलर खर्चेर अन्तरिक्षको यो होटलमा जान सकिने बताइएको छ । उक्त होटलबाट दैनिक १६ पटक सूर्योदय हेर्न सकिन्छ भने यहाँ शून्य गुरुत्वाकर्षण रहेको छ । होटल बनाइएको स्पेस स्टेशनमा एकपटक ६ जना मानिस बस्न सक्छन्, जहाँ दुईजना क्र्य्रू सदस्य पनि हुन्छन् भने यो अन्तरिक्ष यात्रा १२ दिनको रहनेछ ।

अमेरिकी अन्तरिक्ष कम्पनी ओरिओन स्पानले बनाएको उक्त होटलमा सन् २०२१ मा पहिलोपटक मानिस लैजाने योजना छ । यसअघि सन् २०१८ मा २०२२ मा मानिस लैजान सकिने घोषणा गरिएको थियो । ओरिओन स्पानका सीईओ तथा संस्थापक फ्रान्क बंगरले यो होटल सार्वजनिक भएसँगै यहाँ मानिस लैजान शुरू गरिने बताए । अन्तरिक्षमा मानिसलाई छिट्टै र सस्तो मूल्यमा लैजाने प्रयास भइरहेको उनको भनाइ छ ।

अन्तरिक्ष यात्राको अनुभव
उक्त होटलको भ्रमण अवधि करीब २ साता हुनेछ । करीब १ करोड डलरको यो भ्रमणले मानिसलाई अन्तरिक्षको महŒवपूर्ण अनुभव प्रदान गर्ने उल्लेख छ । उक्त होटलको परीक्षण अवधि २४ महीना राखिएको संस्थापक बंगरले बताए । पृथ्वीभन्दा २ सय माइलमाथिको यो होटलबाट पृथ्वीका निकै रमणीय दृश्य देखिने दाबी गरिएको छ । यो होटलले ९० मिनेटमा पूरा पृथ्वीको चक्कर लगाउनेछ । यसको अर्थ मानिसले १ दिनमा १६ पटक सूर्योदय देख्न पाउँछन् ।

अन्य महत्त्वपूर्ण परीक्षण
सो अन्तरिक्ष स्टेशनमा अन्य केही महत्त्वपूर्ण परीक्षण पनि गर्न सकिने बताइएको छ । अहिले अनुसन्धाता यहाँ खाना उमार्ने प्रयासमा पनि लागेका छन् । साथै त्यहाँ उच्च गतिको इन्टरनेट सेवाको पनि प्रयोग गर्ने तयारी भइरहेको छ । यसबाट पृथ्वीमा रहेका मानिसले पनि अन्तरिक्षको केही अनुभव लिन सक्ने बताइएको छ ।

पृथ्वीको दृश्यावलोकनका लागि अन्तरिक्षको होटलमा विशेष झ्यालहरू पनि राखिएका छन् । यो होटलमा मानिसविना कुनै गुरुत्वाकर्षणको कारण उड्न पनि सक्छन् । यो स्टेशन १२ फीट फराकिलो र ३५ फीट लामो छ, जुन एक ठूलो निजी हवाईजहाज जत्रो हुन्छ । बंगरले यो अन्तरिक्ष स्टेशनको यात्राले नयाँ अन्तरिक्ष युगको शुरुआत हुने विश्वास व्यक्त गरे ।

पृथ्वीबाट उड्नुभन्दा पहिला त्यहाँ जान चाहने मानिसले ३ महीनाको १ तालीमको प्रमाणपत्र लिनुपर्ने हुन्छ । ओरिओन स्पान विगत १४० वर्षदेखि मानिसको अन्तरिक्ष अनुभवबारे काम गरिरहेको संस्था हो । अहिले ओरिओन स्पानले अहिले उक्त होटलमा जान चाहने मानिसबाट पैसा उठाउने काम पनि गरिरहेको छ । यो ओरिओन स्पानको निकै महँगो योजना हो ।

यसअघिका प्रयास
अन्तरिक्षमा मानिस लैजाने प्रयास यो पहिलो भने होइन । अन्तरराष्ट्रिय स्पेस स्टेशन (आईएसएस)का म्यानेजरले पनि सन् २०२४ सम्ममा मानिसलाई स्पेस स्टेशन व्यावसायिक बनाउने योजना अघि सारेका छन् । पछि सन् २०२० बाट पर्यटक आईएसएसमा लैजाने अर्को योजना ल्याइएको थियो ।

यसअघि सन् २००१ मा सात दिनको भ्रमणका लागि २ करोड डलरको योजना अघि सारिएको थियो । सन् २००९ मा पनि २ लाख ५० हजार डलरमा अन्तरिक्षमा मानिस लैजाने योजनाको लागि भर्जिन ग्लाक्टिकको योजना आएको थियो । तर यसको पहिलो उडान सन् २०१८ को डिसेम्बरमा मात्र भएको थियो, जसमा तोकिएको रकम लागतभन्दा निकै कम रहेको पाइएको थियो । बंगरका अनुसार अहिले अघि सारिएको योजना अन्तरिक्षमा होटलका साथै बहुउपयोगी रहेको बताए । आफ्नो संरचना आगामी दिनमा सहजै क्षमता बढाउन र बजारको माग अनुसार विस्तार हुन सकिने किसिमको रहेको उनको भनाइ छ ।

(एजेन्सीको सहयोगमा, अभियानबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij