काबुल — अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा दर्जनौं व्यक्ति हताहत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार भएको निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ ।
काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताएका छन् ।
तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।
अफगानिस्तानमा शनिबार बिहान ७ बजेदेखि नै संसदीय निर्वाचन सुरु भएको थियो । तालिवान आतङ्ककारी समूह शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीय समयानुसार शनिबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा तालिावान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए ।
लामो समयको प्रतिक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिवान आतङ्ककारीका कारण निर्वाचनमा ५० हजारभन्दा बढी सुरक्षा अधिकारी तैनाथ गरिएको थियो । उक्त निर्वाचनका लागि ३० लाख महिलासहित करिब ९० लाख व्यक्तिले मतदाता नामवलीमा आफ्नो नाम दर्ता गरेका थिए ।