२०८३ साउन ९ शनिबार

काम थोरै, भुक्तानी धेरै

ई आर्थिक    शुक्रबार, असोज २६ २०७५
3.5K
Shares
काम थोरै, भुक्तानी धेरै
विमल खतिवडा, आश्विन २६, २०७५, काठमाडौँ — देशभर निर्माणाधीन पक्की पुलमध्ये सबैभन्दा धेरै पप्पु कन्स्ट्रक्सनको ठेक्कामा छन् । तर ती सबैको काम सुस्त छ । काठमाडौंभित्रका कतिपय सडकसमेत भत्काएर अलपत्र छाडेको पप्पुको हातमा एकल र संयुक्त गरी ३५ वटा पुलको ठेक्का छ ।
पप्पु कन्स्ट्रक्सनले बनाएको केही समयमै भासिएको बर्दियाको बबई पुल । 
कतै विवादका कारण कामै थालिएको छैन त थालिएका काम पनि अलपत्र छन् । सडक विभागअन्तर्गत पुल महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पप्पुले पाएका पुलको कुल ठेक्का रकम ८ अर्ब ८७ करोड ५५ लाख हो । हुलाकी राजमार्गमा समेत यही कन्स्ट्रक्सनको कब्जा छ ।
१ अर्ब ५२ करोड ५५ लाख रुपैयाँमा ठेक्का दिइएका १३ वटा पुलको सम्झौता अवधि सकिइसकेको छ । निर्माण सम्पन्न हुन बाँकी नै रहेका यी पुलका लागि सरकारले पप्पुलाई ७७ करोड ७८ लाख भुक्तानी दिइसकेको छ । पुल कति बन्यो, किन ढिलाइ भयो भन्नेबारे अनुगमन गरिएको छैन । वर्षौंदेखि पुल बन्ने प्रतीक्षामा रहेका स्थानीय निर्माण कार्य अलपत्र हुँदा निराश छन् । पप्पुले एकल र संयुक्त गरी स्थानीय सडक पुल २८ र रणनैतिक सडक (राजमार्ग) का ७ वटा पुल ठेक्का लिएको हो ।
पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाका अनुसार म्याद थप सम्बन्धित योजना प्रमुखले नै गर्छन् । ‘म्याद थप्ने/नथप्ने सम्बन्धित योजना/आयोजना प्रमुखहरूबाटै हुन्छ, फाइल मात्र यहाँ आउँछ,’ उनले भने, ‘निर्माणको ठेक्का लिएर पनि काम भएको छैन, एक/दुई ठाउँमा टेक्निकल कारणले समस्या छ ।’ उनका अनुसार ‘मोबिलाइजेसन’ रकम पहिला नै दिने गरिन्छ । ‘कतिपय ठेक्कामा १५ प्रतिशतसम्म मोबिलाइजेसन रकम बुझेका छन्, यो बैंक ग्यारेन्टी राखेर बुझ्न पाइन्छ,’ उनले भने, ‘रकम बुझे पनि काम भने गरेका छैनन् ।’ सबभन्दा बढी ठेक्का पप्पुकै भएको र अलपत्र पार्नेमा पनि यही कम्पनी अगाडि रहेको थापाले बताए ।
उदयपुरको बेलका नगरपालिकास्थित गिदेरी खोलामा पुल निर्माण थालिएको ४ वर्ष बित्यो । पप्पु र मृतसञ्जीवनी कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७१ असार ३१ मा यसको ठेक्का लिएका हुन् । काम ४५ प्रतिशत मात्र भएको छ । ०७४ असार ३० मा सम्झौता अवधि सकिएपछि एक वर्ष थपिएको थियो । थपिएको अवधिमा पनि खासै प्रगति भने देखिएन ।

डिभिजन सडक कार्यालय लहानका अनुसार पुलको फाउन्डेसनको काम सकिएको छ । ‘यहाँको पुल निर्माणमा मात्र ढिलाइ भएको होइन,’ डिभिजन प्रमुख रामकुमार देवले भने, ‘देशभरिका अधिकांश पुलको निर्माण अवधि सकिएको छ, विभागबाट के परिपत्र आउँछ, त्यहीअनुसार कारबाही प्रक्रिया सुरु हुनेछ ।’

अहिलेसम्म भएका काम पनि मृत सञ्जीवनीले मात्र गरेको, पप्पु कन्स्ट्रक्सनबाट कोही देखा नपरेको देवले बताए । उनका अनुसार ठेक्का सम्झौतामा कसले कति दायित्व बहन गर्ने भन्ने उल्लेख रहेकाले दुवै कारबाहीको भागीदार हुनेछन् । यो पुलको ठेक्का रकम १५ करोड १३ लाख ८२ हजार रुपैयाँ हो । २ करोड १७ लाख २३ हजार भुक्तानी भइसकेको छ ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १९ गते पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार र हालका अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरूमाथि बर्दिया र गुलरिया जोड्ने जब्दीघाटको बबई पुल गुणस्तरहीन बनाएको आरोप छ । रौनियारले यो पुलको पनि १९ करोड ४० लाख रकम बुझिसकेका छन् ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij