२०८३ असोज ३ शनिबार

५८ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
1.4K
Shares
५८ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत, आईटी क्षेत्रमा सबैभन्दा धेरै परियोजना

काठमाडौं ।  गएको आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ५८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी गर्ने प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार सेयर खरिद तथा नयाँ उद्योग दर्तामार्फत कुल ५८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) स्वीकृत गरिएको हो।

विभागको तथ्यांकअनुसार आर्थिक वर्षभर १ हजार १ सय १६ वटा विदेशी लगानीसम्बन्धी प्रस्तावले स्वीकृति पाएका छन्। तीमध्ये ८ सय ९७ वटा परियोजनाले स्वचालित (अटोमेटिक) प्रणालीमार्फत स्वीकृति पाएका हुन् भने बाँकी परियोजना म्यानुअल प्रक्रियाबाट स्वीकृत भएका छन्। विभागका अनुसार स्वचालित लगानी स्वीकृति प्रणाली लागू भएपछि साना तथा मध्यम लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। यद्यपि, ठूला लगानीका प्रस्ताव भने अझै म्यानुअल प्रक्रियामार्फत नै स्वीकृत भइरहेका छन्।

गत आर्थिक वर्षमा ५९ वटा सेयर खरिद–बिक्रीसम्बन्धी विदेशी लगानी प्रस्ताव स्वीकृत भएका छन्। यी परियोजनामार्फत १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आएको विभागले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा ठूलो लगानी प्रतिबद्धता कृषि तथा वनमूलक उद्योगमा आएको छ। यस क्षेत्रमा १८ वटा परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटन क्षेत्रमा २२७ वटा परियोजनाले स्वीकृति पाएका छन्। होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा केन्द्रित यी परियोजनामा १३ अर्ब ९९ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ।

परियोजनाको संख्याका आधारमा भने सूचना प्रविधि (आईटी) क्षेत्र सबैभन्दा अगाडि रहेको छ। विभागका अनुसार यस अवधिमा ७ सय २७ वटा आईटीसम्बन्धी परियोजना स्वीकृत भएका छन्, जसमा २ अर्ब ८३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता छ।

यस्तै, उत्पादनमूलक उद्योगका ६३ वटा परियोजनामा ३ अर्ब ९१ करोड रुपैयाँ र ऊर्जामूलक चार वटा परियोजनामा करिब ७ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

विदेशी लगानीसँगै विभागले आर्थिक वर्षभर १ हजार ८ सय १८ वटा बिजनेस भिसाका लागि सिफारिस गरेको छ। साथै, विदेशी लगानीकर्तालाई १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको लाभांश फिर्ता लैजान स्वीकृति प्रदान गरिएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij