काठमाडौं। काठमाडौँ उपत्यकाको अत्यधिक ट्राफिक जाम हुने चाबहिल–गौशाला सडक खण्डको दीर्घकालीन समाधानका लागि पशुपति क्षेत्रमुनि नेपालकै पहिलो दुई तले (डबल डेकर) भूमिगत सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ।
काठमाडौँ उपत्यकाको समग्र यातायात व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यसहित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार पार्दै गरेको नयाँ सहरी यातायात गुरुयोजना (मास्टर प्लान) मा उक्त महत्त्वाकाङ्क्षी पूर्वाधार आयोजना समावेश गरिएको हो।
प्रस्तावित सुरुङमार्गको प्रारम्भिक निर्माण लागत करिब ६५ अर्ब रुपैयाँ (६८.५ अर्ब जापानी येन) अनुमान गरिएको छ। बढ्दो सहरीकरण, तीव्र सवारी साधनको चाप तथा उपत्यकामा दैनिक बढ्दो ट्राफिक समस्यालाई मध्यनजर गर्दै यो परियोजना प्रस्ताव गरिएको जनाइएको छ।
जाइकाले सन् २०२६ को अगस्ट सम्ममा सहरी यातायात प्रणालीसम्बन्धी गुरुयोजनाको अन्तिम प्रतिवेदन नेपाल सरकारलाई बुझाउने कार्यतालिका तय गरेको छ। प्रतिवेदन स्वीकृत भएपछि सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन, डिजाइन तथा निर्माण प्रक्रिया अगाडि बढाइने बताइएको छ।
प्रस्तावित सुरुङमार्ग निर्माण भएमा चाबहिल–गौशाला खण्डको ट्राफिक चाप उल्लेखनीय रूपमा घट्नुका साथै काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनमा दीर्घकालीन सुधार हुने अपेक्षा गरिएको छ।