काठमाडौँ । किष्ट बैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेको ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरेको हो।
ज्ञवालीलाई जोगीको आवरणमा बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममाबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनी त्यहाँ फरक जोगीको भेष धारणमा बसेका थिए । त्यहाँ उनी अन्य जोगीहरूसँगै बसिरहेको अवस्थामा बसेका प्रहरीले पक्राउ गरेको थियो । लामो टुप्पी पालेका उनलाई पहिला ठम्याउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । तर, नेपालबाट प्रहरी भारतीय प्रहरीको सहयोगमा पूर्ण सूचना लिएर त्यहाँ पुगेकाले पक्राउ गर्न सफल भएको प्रहरीस्रोतले जानकारी दियो । उनलाई नेपाल ल्याइसकेपछि शुक्रबार नै अदालतमा पेस गरेको छ । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरिएको छ ।
ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो। त्यसयता ज्ञवाली फरार थिए। अदालतले ज्ञवालीसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो।
नेपाल राष्ट्र बैंक वादी भई दायर मुद्दामा ज्ञवालीलाई चार वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो।
न्यायधीशहरु किशोर सिलवाल र चण्डीराज ढकालको संयुक्त इजलासले मुद्दा चलाइएका २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको थियो। जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्याङ्कन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।
ज्ञवाली ०५२ सालमा उच्च शिक्षाका लागि गुल्मीबाट काठमाडौं आएका थिए । पढाइसँगै सुरुमा शिक्षकको काम गरेका उनी केही महत्वाकांक्षी थिए । कमर्स पढेका उनी फाइनान्स कम्पनी स्थापना खोल्ने योजनामा लागे । काठमाडौं आएको सात वर्षमै उनले किष्ट मर्चेन्ट फाइनान्स बैंकिङ एण्ड फाइनान्स स्थापना गरे । सो अघि उनीसँगको श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्समा काम गरेको अनुभव थियो । उनकै नेतृत्वमा सो फाइनान्स स्थापना भयो । सो फाइनान्सलाई उनले क्रमशः विकास बैंक नबनाई ‘क’ वर्गको बाणिज्य बैंक समेत बनाउन सफल भएका थिए । फाइनान्स कम्पनीलाई बाणिज्य बैंक बनाउन सफल उनी यस कार्यमा पहिलो बैंकरका रुपमा स्थापित भएका थिए ।
किष्ट फाइनान्स एक्कसी बाणिज्य बैंक बनाएपछि वित्त बजारमा उनको थप चर्चा सुरु भएको थियो । छोटो समयमै लोकप्रिय बाणिज्य बैंक बनाउन सफल उनी बैंकसँगै चर्चित बनेका थिए ।
बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष समेत भएका उनको छोटो समयको लोकप्रियताले अन्य बैंकरहरु नजरमा आँखी समेत भएका थिए । बैंकिङ क्षेत्रमा छोटो समयमै कमाएको उनको लोकप्रियतालाई तत्कालिन समयमा अन्य बैंकरले समेत पचाउन सकेका थिएनन् । अन्य बैंकरको नजरमा समेत आँखी भएका ज्ञवाली पछिल्लो समयमा गभर्नर समेत देब्रे भइदिए । तत्कालिन गभर्नर डा. युवराज खतिवडासँगको विवादसँगै उनको दुर्दशा सुरु भएको थियो ।
डा. खतिवडाका कार्यकालमा जनता बैंकमा धेरैवटा ‘काण्ड’ थिए । उनको लगानीसमेत रहेको जनता बैंकलाई गभर्नर डा. खतिवडाले सहयोग गरेर बैंक गर्भमा भएदेखिका धेरै समस्याहरुलाई ‘सेटलमेन्ट’ गर्न आँखा चिम्लिदिए । तर किष्ट बैंकमा भएको एउटै समस्यालाई ‘सेटल’ गराउन डा. खतिवडाले साथ नदिएकोमा तत्कालिन समयमा बैंकवृत्तमा चर्चाको विषय भएको थियो ।
किष्टमा देखिएको यो समस्यालाई ज्ञवालीले बैंक र बैंकका सेयरधनीलाई अन्याय नहुने गरी भित्रीस्तरबाटै मिलाउन चाहान्थे तत्कालिन किष्ट बैंक स्रोतले भन्यो– ‘तर तत्कालिन गभर्नर डा. युवराज खतिवडाबाट सहयोग भएन् ।’
किष्ट बैंकमा भएको यो घटनाको जनता बैंकमा थुप्रै घटना थिए । तर दुई बैंकमा भएको यो विषयमा गभर्नरले ‘कसैलाई काखा र कसैलाई पाखा’ गरे । यही विषयलाई लिएर तत्कालिन गभर्नर डा. खतिवडाले गरेको व्यवहारले वित्तीय क्षेत्रबाट आलोचना समेत सहुन परेको थियो ।
भएको घटनाको विषयलाई लिएर तत्कालिन समयमा गभर्नरले गरेको व्यवहारबाट तत्कालिन गभर्नरको असहयोगबाट जनस्तरमा वित्तीय जनचेतनामा राम्रो योगदान गरेका चर्चित बैंकरदेखि जेलसम्मको यात्रामा जानुपरेको वित्तीय क्षेत्रका एक अगुवाले बताए ।