२०८३ साउन ९ शनिबार

पप्पु कन्स्ट्रक्सनको बदमासी: हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

ई आर्थिक    बुधबार, असोज १७ २०७५
2.8K
Shares
पप्पु कन्स्ट्रक्सनको बदमासी: हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई
भूषण यादव, आश्विन १७, २०७५, वीरगन्ज — टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गर्‍यो । सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणाधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायण रौनियारको हस्ताक्षर छ ।

सुमित हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन बितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । २०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरियामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

चुनावी अभियानका क्रममा प्रतिस्पर्धीले रौनियारलाई पप्पु कन्स्ट्रक्सनको सञ्चालकका रूपमा कुप्रचार गर्न थालेपछि उनले छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले उक्त दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो । गत भदौ ९ गते रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

कागजी रूपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैं जाने गरेका छन् । रौतहटकै राजदेवी नगरपालिकामा वाग्मती नदीमाथि निर्माण हुने पुलको डिजाइन गलत हुँदा भएको छलफलमा गत महिना छोरासँगै सांसद हरिनारायण पनि हुलाकी आयोजनाको कार्यालयमा पुगेका थिए ।

सडक डिभिजन स्रोतबाट प्राप्त सम्झौतापत्रमा ठेकेदार कम्पनीबाट हरिनारायण रौनियारको हस्ताक्षर छ । २०७१ असार २४ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ठेकेदारबीच भएको सम्झौतामा सडक विभागको हेटौंडास्थित डिभिजन कार्यालय प्रमुख रवीन्द्र दास र ठेकेदार कम्पनीबाट सञ्चालकको हैसियतले हरिनारायणले हस्ताक्षर गरेका हुन् ।

पप्पुले २०७१ असार २९ बाट काम थाल्ने गरी १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा ठेक्का सकारेको थियो । २०७४ असार २५ भित्र काम सक्ने सम्झौता थियो ।

लालबकैया पारिका बन्जाराहा, औरैया, मठिया लगायतका स्थानीयलाई सदरमुकाम गौर आउजाउ सहज बनाउन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए । पप्पु कन्स्ट्रक्सनले समयमा पुल निर्माण नगर्दा टिकुलिया घाटमा डुंगा दुर्घटना भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले कन्स्ट्रक्सनका सञ्चालकलाई सोधपुछका लागि बोलाउँदा नआएपछि पक्राउ पुर्जी जारी गरेको हो ।

लालबकैया नदीमा निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुंगा पल्टिएको थियो । डुंगामा करिब २९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी केदार ढकालले निर्माणाधीन पुल र डुंगा दुर्घटनाबारे सोधपुछका लागि बोलाउँदा अटेरी गरेकाले रौनियारलाई पक्राउ पुर्जी जारी गरिएको बताए । प्रहरीले जिल्ला अदालतमा छानबिनका लागि पक्राउ पुर्जी जारी गर्ने आदेश माग गरेको थियो । अदालतको आदेश पछि प्रहरीले विभिन्न युनिटलाई पत्राचार गरेको थियो ।

‘सम्झौता कोसँग भएको थियो, कहिलेसम्म बन्नुपर्ने हो, त्यो हेर्ने काम सडक विभागले हो,’ कान्तिपुरसँग ढकालले फोनमा भने, ‘हामीले अनुसन्धान गर्ने भनेको ५ जनाको ज्यान कसरी गयो भन्ने नै हो ।’

नक्कली अनुभव दिँदा कालोसूची
२०६४ सालमा सडक विभागलाई नक्कली ‘कार्य अनुभव’ पेस गरेको पाइएपछि विभागले एक वर्षसम्म पप्पुलाई कालोसूचीमा राखेको थियो ।

वीरगन्ज उपमहानगरपालिकाबाट लिएको कार्य अनुभव स्क्यान गरी बाटो र नालासमेत निर्माण गरेको विवरण बढाएर विभागमा पेस गरेको प्रमाणित भएपछि कालोसूचीमा राखेको तत्कालीन योजना प्रमुख प्रकाश अमात्यले बताए । ठूलो रकमको ठेक्का पाउन पप्पुले नगरपालिकाको विवरण हेरफेर गरेको भन्दै उनका प्रतिस्पर्धीहरूले सडक डिभिजन कार्यालय हेटौंडामा उजुरी दिएका थिए ।

विभागले नगरपालिकामा छानबिन गरेपछि नक्कली विवरण पेस गरेको प्रमाणित भएको थियो । ‘चलानी नम्बर, हस्ताक्षर सही थियो,’ अमात्यले भने, ‘तर, सडक र नालाको विवरण गलत थियो ।’ जानकारका अनुसार पुल, सडक, सिँचाइ, भवन लगायतका ठेक्का कम मूल्यमा सकार गरी ठेक्काको कुल रकमको १० प्रतिशत आउने मोबिलाइजेसन खर्च लिएर पप्पुका सञ्चालकले घरजग्गामा लगाउँदै आएको छ ।

‘जग्गा कारोबारमा एक वर्षमै मूल्य वृद्धि हुन्छ,’ पप्पु कन्स्ट्रक्सनको कामलाई नजिकबाट नियाल्दै आएका वीरगन्जका एक ठेकेदार भन्छन्, ‘बैंकबाट ऋण लिँदा कम्तीमा १२ प्रतिशत ब्याजमा लिनुपर्छ, तर मोबिलाइजेसन खर्चका लागि कुनै ब्याज तिर्नुपर्दैन, मोबिलाइजेसनको खर्चले जग्गा सम्पत्ति जोडेका छन् ।

हालै पप्पुले वीरगन्जको मेन रोडमा पार्टी प्यालेस खरिद गरेको छ । उनका अनुसार ठेक्का सम्झौताका बेला दिइने बैंक ग्यारेन्टीका लागि एक प्रतिशतभन्दा कम ब्याज दिनुपर्छ ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij