काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।
एटिएम उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, उद्योगी, व्यापारी र विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । चोभार क्षेत्र लगायत वरपरका सबै मानिसहरु यस सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।
डोटीमा ३६३३ परिवारलाई नगद वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नाइबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।
डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रमको आयोजना गरी बैंकले ३६३३ परिवारलाई कूल पाँच करोड १७ लाख ७६ हजार आठ सय ३५ रुपैयाँ वितरण गरेको छ ।
बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास लिइएको छ ।