२०८३ साउन ९ शनिबार

दुई तिहाई सरकारको महशुस गरेन उद्योगीले, प्रधानमन्त्रीले व्यवसायीसँग मागे सुधार गर्नुपर्ने बुँदागत सूची

ई आर्थिक    आइतबार, साउन २७ २०७५
3.7K
Shares
दुई तिहाई सरकारको महशुस गरेन उद्योगीले, प्रधानमन्त्रीले व्यवसायीसँग मागे सुधार गर्नुपर्ने बुँदागत सूची

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।” स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी मर्कामा परेको भन्दै महासंघको टोलीले प्रधानमन्त्रीसँग गुनासो गरेको थियो ।
प्रधानमन्त्रीसँगको भेटमा उद्योगी व्यवसायीले सोचेजस्तै दुई तिहाई सरकारको अनुभव गर्न नपाएको गुनासो गरेका थिए ।

महासंघका अध्यक्ष भवानी राणाले करको बोझ अन्त्य, पुराना औद्योगिक नीति परिवर्तनलगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगिक क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन महासंघको प्रतिनिधिमण्डलाई आग्रह गर्नुभएको अध्यक्ष राणाको भनाइ छ । पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा कर लगाएको र त्यसले उद्योगी तथा व्यवसायीलाई नकारात्मक असर पारेको भन्दै महासंघले प्रक्रियागतरुपमा प्रष्ट हुन सरकारलाई अनुरोध गर्दै आएको छ ।

व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : मन्त्री बाँस्कोटा

बनेपा : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उहाँले व्यवसायीको माग बमोजिम नियम, कानून, विनियम जे बनाउनुपर्ने हो, त्यसका लागि सरकार तयार छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको आवश्यकता हो भन्दै त्यसका लागि व्यवसाय, प्रविधि, कलालगायत सबै क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर सरकार अगाडि बढेको र यसलाई मूर्तरुप दिन सबै नेपाली अग्रसर हुनुपर्ने बताउँदै उहाँले मुलुकको विकास र समृद्धिका लागि
खानीको सम्भाव्यता अध्ययन, उत्खनन र बजारीकरणमा पनि लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले हरेक पेशा सम्मानित र पारदर्शी हुनुपर्नेमा जोड दिदैं मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार अग्रसर भएकाले यसमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले विदेशी कालिगढ निर्यात गरी काम गर्नुपर्ने अवस्थालाई निरुत्साहित गरी स्वदेशी कालिगढ उत्पादन र क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गुणस्तर, ज्याला, समिश्रण र जर्दिमा व्यवसायी र उपभोक्त कसैसँग सम्झौता गर्न नसकिने बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दानकाजी शाक्यले जिल्लाको आर्थिक विकासमा संघले महत्वपूर्ण योगदान पु¥याइरहेको चर्चा गर्दै नेपाली सीप र कलाको संरक्षण र विकास जोड दिनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij