२०८३ साउन ९ शनिबार

कूटनीतिमा किन चुक्यो नेपाल ?

ई आर्थिक    शनिबार, असार ३० २०७५
1.5K
Shares
कूटनीतिमा किन चुक्यो नेपाल ?
‘थोरै मात्रै पहल भएको भए भारत आएका दक्षिण कोरियाली राष्ट्रपतिलाई नेपाल ल्याउन सकिन्थ्यो’

चन्द्रशेखर अधिकारी, असार ३०, २०७५, काठमाडौँ — दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन छिमेकी भारतको राजकीय भ्रमण पूरा गरेर फर्केका छन् । उनको भारत भ्रमणलाई दक्षिण एसियासँग दक्षिण कोरियाको लगाव भन्ने कूटनीतिक अर्थ लगाइएको छ ।

थोरै मात्रै प्रयास भएको भए दक्षिण कोरियाको राष्ट्रपति हुनुअघि नेपालको हिमाली क्षेत्र भ्रमण गरेका र भूकम्पपछि उद्धारमा सहयोगसमेत गरेका मुन नेपाल आउन सक्ने आकलन परराष्ट्र अधिकारीहरू नै गर्छन् । यस्तो विषयमा कूटनीति नजर नपरेको यो पहिलो पटक भने होइन । यसअघि पनि नेपालको परराष्ट्र मन्त्रालय यस्ता विषयमा चुक्दै आएको छ ।

कोरियन प्रायद्वीपको शान्ति र सहकार्यका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोन उनको सिंगापुर वार्तापछि भएको दक्षिणका राष्ट्रपतिको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । राष्ट्रपति मुन छिमेकमा आउँदा नेपाल भ्रमण पनि जुराउन सकिन्थ्यो तर त्यसतर्फ पहल नै भएन । सम्भवत: नेपाली कूटनीतिज्ञलाई उनी भारत आउँछन् भन्ने जानकारीसमेत ढिला मात्रै भयो ।

पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले कोरियाका राष्ट्रपति पहिले पनि नेपाल भ्रमणमा आएको र नेपालप्रति विशेष लगावसमेत रहेकाले थोरै प्रयासमा पनि उनको भ्रमण हुन सक्ने बताउँछन् । ‘अहिले म त्यति धेरै सम्पर्कमा त छैन तर दूतावासले केही पहल गरेको भए भ्रमण हुन सक्ने थियो ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

मन अशान्ति हुनेबित्तिकै नेपाल आउने र हिमालयन क्षेत्रमा पदयात्रा गर्ने गरेको बताइसकेका मुनले भारतको बाह्रखम्बा रोडस्थित नेपाली दूतावास अगाडिको मन्डी हाउस ट्रेन स्टेसनबाट नोयडासम्मको यात्रासमेत गरे । तर उनको नेपाल यात्राका लागि कसैले पहल गर्न सकेनन् ।

नेपाली दूतावास अगाडि रहेको मन्डी हाउसदेखि २६ मिनेट यात्रा गर्दै मुन नोयडाको बोटानिकल गार्डेन गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखेका थिए, ‘विश्वस्तरीय मेट्रो ट्रेनमा दक्षिण कोरियाली राष्ट्रपतिको साथ हामी नोयडा गएका छौं ।’

यसअघि जापानका विदेशमन्त्री पनि नेपाल आउन खोज्दाखोज्दै नेपाली पक्षकै कारण भ्रमण पर सरेको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए । ‘उनी भुटान गए तर नेपाल आएनन्, जुलाईभित्र आउन नसके यो वर्ष नेपाल आउने सम्भावना रहँदैन भन्ने सूचना उनले दिइसकेका छन्,’ ती अधिकारीले भने ।

कोरियाली राष्ट्रपतिका हकमा पनि यस्तै सामान्य कूटनीतिमा ध्यान नदिँदा समस्या देखा परेको हो । हुन त छिमेकी भारतमा दक्षिण कोरियाको व्यापार ठूलो छ र त्यहाँ व्यापार बढाउन चाहेको कारण मुनले यात्रा गरेकामा दुईमत छैन ।

तर, भारतमा चार दिन बिताउन आएका मुन दम्पतीलाई सरकारले थोरै मात्र प्रयास गरेको भए नेपाल ल्याउन सक्ने थियो । ‘यसका लागि पूर्वसूचना र कूटनीतिक पहल नै मुख्य विषय थियो । त्यो हाम्रा कूटनीतिज्ञ र राजनीतिज्ञ दुवैले गरेनन् । आगामी दिनमा यस्ता विषय नेपाल चुक्न हुँदैन,’ ती अधिकारीले भने । यस्ता विषयमा नेपालमा कुनै पहल र छलफल हुँदैन, न कूटनीतिज्ञले चासो राख्छन् न त राजनीतिज्ञले ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij