२०८३ साउन ९ शनिबार

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

ई आर्थिक    बुधबार, असार १३ २०७५
2.5K
Shares
सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

काठमाडौँ, १३ असार : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो ।

सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने जवाफ दिनुभयो ।

“भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ”, मन्त्री थापाले भन्नुभयो, “तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।”

कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाएको छ भन्दै उहाँले सम्भावित विपद्बाट हुन सक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताउनुभयो ।

नागरिकता प्राप्तिको हक सुनिश्चितताका लागि कानून तर्जुमा गरी कानून मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै उहाँले सीमा सुरक्षा विशेष अभियान सञ्चालन गरी अपराध नियन्त्रण गरिने बताउनुभयो । मन्त्री थापासँग, दिलेन्द्रप्रसाद बडू, विमलप्रसाद श्रीवास्तव र रामबहादुर विष्टले थप स्पष्टीकरण माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij