२०८३ साउन ९ शनिबार

प्राकृतिक विपतले जान्छ बर्सेनि पाँच सयको ज्यान, वार्षिक तीन अर्ब रुपैयाँबराबरको क्षति

ई आर्थिक    बिहिबार, असार ७ २०७५
3.6K
Shares
प्राकृतिक विपतले जान्छ बर्सेनि पाँच सयको ज्यान, वार्षिक तीन अर्ब रुपैयाँबराबरको क्षति

टेकराज थामी, काठमाडौं, ७ असार । प्राकृतिक विपत्मा परी नेपालमा प्रत्येक वर्ष सरदर पाँच सयको ज्यान जाने गरेको छ । तीन अर्बभन्दा बढीको क्षति हुने गरेको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार प्राकृतिक विपत्बाट ०७३ मा चार सय ८३ को र ०७४ मा पाँच सय ९७ को मृत्यु भएको छ । यी दुई वर्षमा मुलुकभर ६ अर्ब ३० करोड तीन लाख १८ हजार तीन सय ४७ रुपैयाँ मूल्यबराबरको संरचना तथा सम्पत्ति क्षति भएको छ ।

बाढी, पहिरो र आगलागीबाट धेरै क्षति
यति ठूलो संख्यामा जनधनको क्षति हुनुका प्रमुख कारण बाढी, पहिरो र आगलागी रहेको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । गत वर्ष बाढी, पहिरो र आगलागीका कारण मात्रै दुई अर्ब ५९ करोड ९१ लाख तीन सय ६० रुपैयाँबराबरको क्षति भएको थियो । यी तीन विपत्मा परी तीन सय ३९ जनाको ज्यान गयो ।

वर्षा, हुरी र चिसो पनि मुख्य विपत्
अत्यधिक वर्षा र हुरी पनि नेपालमा जनधनको क्षति गर्ने प्राकृतिक विपत् हुन् । अत्यधिक वर्षा र हुरीका कारण गत वर्ष मात्रै मुलुकभर तीन करोड ७२ लाख ७७ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको थियो । १७ जनाले ज्यान गुमाउनुपर्‍यो । त्यस्तै चिसोका एक सय पाँचको ज्यान गएको र ५३ लाख १५ हजार रुपैयाँबराबरको क्षति भएको गृहको तथ्यांक छ ।

प्राकृतिक विपत्बाट क्षतिको दर बढ्दै
गृह मन्त्रालयको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले प्राकृतिक विपत्का कारण जनधनको क्षति हुने दर बढ्दै बताए । ‘हरेक वर्षको तथ्यांक हेर्दा प्राकृतिक विपत्को क्षति तुलनात्मक रूपमा कहिले बढेजस्तो र कहिले घटेजस्तो देखिए पनि समग्रमा बढ्दो दरमै छ,’ न्यौपानेले भने । प्राकृतिक विपत्का कारण बेपत्ता हुनेको संख्या पनि धेरै छ । प्रत्येक वर्ष ६० भन्दा बढी बेपत्ता हुँदै आएका छन् । आठ सयभन्दा बढी घाइते हुन्छन् । प्रत्येक वर्ष १९ हजार पाँच सय ४२ परिवार प्रभावित हुन्छन् ।

सात वर्षमा १२ हजारको मृत्यु
पछिल्ला सात वर्षमा प्राकृतिक विपत्मा १२ हजार २ सय ३३ जनाले ज्यान गुमाएका छन् । ०७२ मा गएको भूकम्पमा जनधनको क्षति बढी भयो । १२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पका कारण आठ हजार नौ सय ७० को ज्यान गयो । सात वर्षमा प्राकृतिक विपत्कै कारण एक हजार बेपत्ता भएका छन् ।

क्षति न्यूनीकरण गर्न विशेष योजना चलाइरहेका छौँ
केदार न्यौपाने
प्रमुख, विपत् व्यवस्थापन महाशाखा
प्राकृतिक विपत्का कारण जनधनको क्षतिको दर प्रत्येक वर्ष वृद्धि भइरहेको छ । कतिपय विपत् मानव सिर्जित छन् । कतिपय भने प्राकृतिक नै छन् । पहाड र तराईमा प्रत्येक वर्ष पहिरो र बाढी आउँछ । यसमा मान्छेको पनि भूमिका छ । तराईमा बाढी आउनेमध्ये मुख्य कारण चुरे फँडानी हो । पहाडमा पहिरो जाने मुख्य कारण पनि वन फँडानी र अव्यवस्थित सडक निर्माण हो । यी मानव सिर्जित समस्या न्यूनीकरण गर्न सकिन्छ । वन फँडानी गर्न नदिने, फँडानी भएको ठाउँमा वृक्षरोपण गर्नेजस्ता योजना गृहले अगाडि ल्याएको छ । नदी किनारमा बस्ती नबसाल्ने र पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने काम पनि भइरहेका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij