२०८३ साउन ९ शनिबार

सांसदलाई ४ करोड : एक्लै खर्चन नपाउँदा आक्रोश, भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै

ई आर्थिक    शुक्रबार, जेष्ठ १८ २०७५
4.1K
Shares
सांसदलाई ४ करोड : एक्लै खर्चन नपाउँदा आक्रोश, भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै

मकर श्रेष्ठ, जेष्ठ १८, २०७५ काठमाडौँ — स्थानीय तह पूर्वाधार विकास गर्न छुट्याएको ४ करोड बजेट ‘एक्लैको तजबिजले खर्च गर्न’ नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरू आक्रोशित भएका छन् ।

नयाँ व्यवस्थाअनुसार सरकारले विनियोजन गर्ने चार करोड रुपैयाँ स्थानीय तहले खर्च गर्ने भएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा उनीहरूले ‘यसअघि जस्तै निर्वाचित सांसदले चाहे जसरी खर्च गर्न पाउनुपर्ने’ माग राखे ।स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट विनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद् बैठकमा सरकारको चर्को आलोचना गरे । ‘अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको’ आरोप उनीहरूको छ ।

अर्थमन्त्री युवराज खतिवडाले ‘सांसदहरूको दबाबमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा हरेक निर्वाचन क्षेत्रलाई चार करोड बजेट छुट्याउनुपरेको’ अभिव्यक्ति दिएको भन्दै बैठकमा सांसदहरूले उनको चर्को आलोचना पनि गरे । ‘मन्त्री भयो भन्दैमा हाम्रो अपमान गर्न पाइन्छ ? हामीलाई वडा अध्यक्षको हैसियतमा राख्न खोज्ने ?,’ जुम्लाका सत्तापक्ष सांसद गजेन्द्रनारायण महतले भने, ‘यस्तो ४ करोड हामीलाई चाहिएको छैन ।’

सरकारले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्न संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको समन्वय र सहजीकरणमा मात्र कार्यान्वयन गर्न पाउने गरी यो कार्यक्रम ल्याएको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा संघीय सांसद, प्रदेश सदस्य र स्थानीय तहका प्रमुखहरूको समितिले बढीमा पाँच वटा आयोजना मात्र छनोट र अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो पनि सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणमा मात्रै खर्च गर्न पाइनेछ ।

यसलाई ‘सांसद तह लगाउने बजेट आएको’ भन्दै सांसदहरूले विरोध गरे । सांसद हृदयेश त्रिपाठीले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई तेस्रोलिंगीको संज्ञा दिए । ‘अर्थमन्त्रीजीले म ट्रयापमा परेर यो बजेट राख्नुपर्‍यो भन्नुभएछ,’ उनले भने।

‘ट्रयापबाट मुक्त हुनु ठीक छ । तेस्रोलिंगी बजेट आउनुभन्दा नआउनु बेस हुन्छ । यसको कुनै औचित्य छैन,’ उनले भने। सांसदहरू जनतासँग प्रतिबद्धता जनाएर निर्वाचित भएकाले यो बजेटले अपमान गरेको उनको ठहर छ । ‘तेस्रोलिंगी कार्यक्रम फिर्ता लिएर अन्य कार्यक्रममा खर्च गर्नुस्, हाम्रोतर्फबाट सहयोग हुनेछ,’ उनले भने ।

प्रमुख प्रतिपक्षी दलका सांसद मीनेन्द्र रिजालले राजनीतिक सहमतिका आधारमा यो कार्यक्रम ल्याइएको भनिए पनि आफ्नो दलसँग कुनै सहमति नभएको बताए । ‘हामीसँग कुनै सहमति भएको छैन । आफ्नै दलका सांसदको दबाबमा ल्याएको भनेको भए हुन्थ्यो,’ उनले भने । सांसद राजेन्द्र गौतमले निश्चित क्षेत्रमा मात्रै बजेट खर्च गर्न पाउने गरी कार्यक्रम ल्याएको भन्दै विरोध जनाए । उनले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाम परिवर्तन गरी सांसद विकास कोष राख्नसमेत माग गरे । सांसद अनिलकुमार झाले निर्वाचित सांसदले मात्रै खर्च गर्न पाउने गरी बजेट हुनुपर्नेमा सबैलाई सहभागिता गराएको भन्दै खिचडीको संज्ञा दिए । ‘हाम्रो अपमान भएको छ, खारेज गरिदिए पनि हुन्छ,’ उनले भने, ‘जसलाई पायो त्यसलाई सहभागी गराएर के गर्न खोजेको हो ?’ उनले विरोध गर्न सबै सांसदलाई आग्रह गरे । सांसद पार्वत गुरुङले पनि यो कार्यक्रमको गलत प्रचारले जनप्रतिनिधिको अपमान गरेको बताए । ‘सिंगो संस्थाको अपमानित हुने काम हुनुहुँदैन,’ उनले भने । सांसद रामकुमारी झाँक्रीले पनि सांसदको अपमान भएको भन्दै विरोध गरिन् । सांसदको दबाबले यो कार्यक्रम राखेको भन्दै अर्थमन्त्रीले दिएको अभिव्यक्तिको सुदन किराँतीले पनि विरोध गरे । ‘हामीलाई वडा अध्यक्ष र भ्रष्ट माननीयसँग तुलना नगरियोस्,’ उनले भने, ‘हामी त सांसदबाट रिटायर भएर मलेसिया जानु छैन । जनतासँग मिलेर काम गर्न खोज्दा पनि विरोध किन ?’ सांसद उमा रेग्मीले वडा तहदेखि संघीय सांसदलाई समेत एकै ठाउँमा राखेर योजना छानेर बजेट विनियोजन गर्ने व्यवस्थाले सांसदको मान मर्दन भएको बताए । ‘स्थानीय तहका पदाधिकारी, प्रदेश र संघीय संसदका सांसदलाई एकै ठाउँमा राखेर बजेट दिँदा हाम्रो अविश्वास देखायो,’ उनले भनिन् । मेटमणि चौधरीले यो व्यवस्थाले द्वन्द्व बढाउने बताए । अर्थमन्त्रीले सांसदको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए । ज्ञानकुमारी छन्त्यालले जनताको मन जितेर आएको सांसदलाई सरकारले अविश्वास गरेको बताइन् । ‘हामी जीउको बाजी लगाएर आएका छौं । समानुपातिक सांसद खान नपाएर दलको संख्या पुर्‍याउन आएको होइन,’ उनले भनिन्, ‘हाम्रो अपमान गर्ने हो भने एक रुपैयाँ नदिँदा पनि हुन्छ ।’ अर्का सांसद प्रकाश रसाइलीले सरकारले सांसदको भावना बुझ्न नसकेको बताए । राजेन्द्र केसीले सांसदका अपमानले देशमा समृद्धि नहुने धारणा राखे ।

भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै

प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरू संसद् भवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबारको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेताहरूसमेत उपस्थित भएनन् ।

दोस्रो बरीयताका नेता पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन । सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् । बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा मात्रै थिए ।

प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए । बैठककक्षमै रहेका सांसद पनि संसद् सञ्चालन नियमावलीविपरीत मोबाइल चलाउन व्यस्त थिए । केही आपसमा गफ गरेर बसेका देखिन्थे । रोस्ट्रममा गएर बोल्ने सांसदको कुरा सुन्ने सांसद कमै थिए । यतिसम्म कि संसद्मा बोल्न नाम टिपाएका समेत उपस्थित थिएनन् । बोल्नका लागि सभामुख कृष्णबहादुर महराले तिलकबहादुर महतको नाम पटक–पटक उच्चारण गरे पनि उनी बैठककक्षमै थिएनन् ।

पूर्वसभामुख ओनसरी घर्तीसमेत ३५ मिनेट बैठकमा बसेर बाहिरिइन् । प्रतिदिन २ हजार यातायात खर्च पाउने भएपछि सांसदहरू हाजिर हुन मात्रै बैठक कक्ष पुग्ने र लगत्तै बाहिरिने क्रम निरन्तर चल्दै आइरहेको छ । नीति तथा कार्यक्रमको छलफलमा पनि सांसदको उपस्थिति न्यून भएको समाचार कान्तिपुरमा प्रकाशित भएपछि सभामुख कृष्णबहादुर महराले सांसदलाई ध्यानाकर्षण गराएका थिए । सचेतक र प्रमुख सचेतकले भने सांसदहरूको बचाउ गरेका छन् । ‘केही साथीको काम भएर पनि निस्केको हुन सक्छ,’ नेकपाका प्रमुख सचेतक देव गुरुङले भने ।

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij