आफूले किन्न चाहेको कम्पनीको सेयरकै धितोमा लगानीकर्ताले ब्रोकर कम्पनीबाट ऋण लिएर सेयरमा लगानी गर्न सक्नेछन् । यसका लागि तोकिएको मापदण्ड, विधि र प्रक्रिया लगानीकर्ताले पालना गर्नुपर्नेछ । यस्तो सुविधा प्रदान गर्दा लगानीकर्ताले सेयर मूल्यको निश्चित प्रतिशत रकम लगानीकर्ता आफैले अग्रिम भुक्तानी गर्नुपर्नेछ । बाँकी रकम ब्रोकर कम्पनीले सापटी दिन्छ ।
लगानीकर्ताले बाँकी रकम भुक्तानी नगरेसम्म उक्त सेयर रोक्का रहन्छ वा ब्रोकरकै अधिनमा रहन्छ । लगानीकर्ताले बाँकी रकम भुक्तानी गरेपछि मात्र सेयरधनीको खातामा सेयर स्थानान्तरण हुन्छ । गत बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ‘मार्जिन कारोबार सुविधा कार्यविधि, ०७४’ पारित गरेको हो । बोर्डबाट पारित भएपनि कार्यान्वयनका लागि नेप्सेले ब्रोकरलाई अनुमति दिनुपर्छ । नयाँ व्यवस्था अनुसार अब लगानीकर्ताले सेयर खरिदका लागि ऋण लिन बैंकसम्म पुग्नु नपर्ने भएको छ ।
लगानीकर्ताले सूचीकृत सबै कम्पनीहरूको सेयर किन्न यस्तो सुविधा पाउने छैनन । यो सुविधाका लागि तोकिएका कम्पनीहरू मात्र छनौट गर्ने पर्ने कार्यविधिमा उल्लेख छ । जसमध्ये सूचीकृत कम्पनीमा कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
उल्लिखित मापदण्डका आधारमा नेप्सेले योग्य कम्पनीको सूची प्रकाशित गर्नुपर्ने छ । ‘सदस्य व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय ८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मुल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउँने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिन को रूपमा लिनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ । तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखि ब्रोकर कम्पनीले ५० प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने सुविधा पनि दिइएको छ ।
ब्रोकरले प्रत्येक लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन दैनिक रूपमा गणना गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशत भन्दा तल आएमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्न सक्नेछ ।
कान्तिपुरबाट