जनकपुर, २८ वैशाख : नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुग्नुभएको छ ।
एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी मोदीले आज संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्नुहुनेछ, त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ ।
स्वागतमा जनसागर जनकपुरतर्फ
नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ ।
मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८÷१० वटा बस, दर्जनभन्दा बढी जीप, कार र सयौँ मोटरसाइकल जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

जनकपुरमा दुवै देशका राष्ट्रिय झन्डा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार जनकपुर भ्रमणका अवसरमा जानकी मन्दिर अगाडि दुवै देशका राष्ट्रिय झन्डा सजाइँदै । तस्बिर : अजयकुमार साह
दुई दिनअघि प्रदेश नं २ का गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदीको स्वागतका लागि महोत्तरीका प्रत्येक पालिका प्रमुखलाई अनिवार्य उपस्थित हुन र जनसागर ल्याउन निर्देशन दिएअनुसार नै महोत्तरीबाट हजाराँैको संख्यामा मानिसहरु आज एकाबिहानै जनकपुरधामतर्फ लागेका छन् ।
आज बिहानैदेखि महोत्तरीका प्रत्येक सडकखण्डमा जनकपुर जाने सवारीसाधन र व्यक्तिको ठूलो भीड लागेको छ ।