२०८३ साउन ९ शनिबार

२८ बैंकको कमाइ ३६ अर्ब

ई आर्थिक    मंगलबार, बैशाख १८ २०७५
1.7K
Shares
२८ बैंकको कमाइ ३६ अर्ब
 ब्याजसँगै ऋण असुली र विदेशी मुद्रा कारोबारबापतको आम्दानी बढेपछि खुद आयमा सुधार

२३ वटा बैंकको नाफा गत वर्षको तुलनामा बढी छ, ५ वटाको कम

वैशाख १८, २०७५, काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ वाणिज्य बैंकहरूले ३६ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.४५ प्रतिशत बढी हो । गत वर्ष बैंकहरूको खुद नाफा ३१ अर्ब ४० करोड रुपैयाँ थियो ।

पछिल्ला नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभावको समस्या खेपिरहे । लगानीयोग्य रकम नभएको भन्दै केही बैंकहरूले नयाँ कर्जा विस्तार पनि रोकेका थिए । यस्तो अवस्थामा पनि बैंकहरूले राम्रो नाफा कमाएका छन् । यो वर्षको सुरुदेखि नै तरलता अभाव (लगानीयोग्य रकम) को समस्या खेपिरहेकाले नाफामा प्रत्यक्ष असर पर्ने अनुमान भइरहेको समयमा वित्तीय विवरणले खुद आय साढे १५ प्रतिशतले बढेको विवरणमा देखिएको छ ।गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा वृद्धिदर करिब १८ प्रतिशत विन्दुले कम हो । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३३.६४ प्रतिशत थियो । राष्ट्र बैंकको निर्देशनअनुसार गत दुई वर्षमा बैंकहरूले चार गुणाले चुक्ता पुँजी बढाएका छन् । पुँजी वृद्धिको तुलनामा ऋण प्रवाह दर निकै कम भएपछि नाफा वृद्धिदरमा कमी आएको जानकारहरू बताउँछन् । यसको प्रत्यक्ष असर बैंकहरूको सम्पत्ति माथिको प्रतिफल (रिटर्न अन एसेट, आरआए) मा देखिएको छ । पुँजी वृद्धिको तुलनामा नाफा वृद्धिदर निकै कम रहेकाले प्रतिफल घटेको उनीहरूको भनाइ छ ।

उक्त अवधिमा बैंकहरूको ब्याज आम्दानीसँगै ऋण असुली र विदेशी मुद्रा कारोबारबापतको आम्दानी बढेपछि खुद आय पनि बढेको हो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षका तेस्रो त्रैमाससम्ममा २३ वटा बैंकको नाफा बढेको छ । गएको एक वर्षमा बाँकी ५ वटा बैंकको नाफा घटेको वित्तीय विवरणहरूले देखाएका छन् । यसरी खुद नाफा घट्ने बैंकहरूमा ग्लोबल आईएमई, एनआईसी एसिया, प्रभु, माछापुच्छ्रे र नेपाल बंगलादेश बैंक छन् ।

यसैगरी १५ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब रुपैयाँभन्दा कम खुद नाफा कमाएका प्राइम, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले यो वर्ष १ अर्ब रुपैयाँ कमाउने बैंकको समूहमा उक्लिएका छन् ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको यो बैंकले तेस्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएर अग्रस्थानमा छ । नेपाल इन्भेस्टमेन्ट, नबिल र नेपाल बैंकले पनि राष्ट्रिय वाणिज्य बैंकलाई पछयाउँदै क्रमश: दोस्रो, तेस्रो र चौथो धेरै नाफा आर्जन गर्ने बैंकका रूपमा अघि आएका छन् । सोही अवधिमा नेपाल इन्भेस्टमेन्टले २ अर्ब ८३ करोड, नबिलले २ अर्ब ७९ करोड र नेपाल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

तेस्रो त्रैमासमा बैंकहरूको नाफा वृद्धिदर सामान्य रहेको बैंकर्स संघका पूर्व कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘नाफामा १५ प्रतिशतको वृद्धिदर सामान्य हो,’ उनले भने, ‘यद्यपि सरकारले तय गरेको वृद्धिदरको लक्ष्यभन्दा बैंकहरूको नाफा वृद्धिदर कम हुन सक्छ ।’ तुलनात्मक रूपमा यो वर्ष बैंकहरूमा लगानीयोग्य रकम (तरलता समस्या) अभाव भएकाले नाफा केही प्रभावित भएको उनले बताए । यो अवधिमा बैंकहरूको अन्य आम्दानीमा राम्रो सुधार देखिएको उनको भनाइ छ । उनले भने, ‘अधिकांश बैंकको सम्पत्तिमा प्रतिफल घटेको छ ।’

चालु आर्थिक वर्षको सुरुदेखि नै तरलता अभाव भएकाले तीव्र रूपमा व्यावसायिक विस्तार हुन नसकेको बैंकर्स संघका कार्यकारी सदस्य अशोक सेरचनले बताए । ‘यस्तो अवस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर सामान्य घटबढ हुनु स्वाभाविक हो,’ उनले भने, ‘यस्तो अवस्थामा पनि बैंकको नाफा सामान्य रूपमा जस्तै गरी बढेको छ ।’

गत चैत मसान्तसम्म बैंकहरूको औसत स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याज अन्तर) दर ४.०८ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.१७ प्रतिशत विन्दुले बढी हो । ०७४ चैतमा यस्तो दर ३.९१ प्रतिशत थियो । उक्त अवधिमा १५ वटा बैंकको स्प्रेड बढेको छ भने १३ वटाको घटेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर बढीमा ५ प्रतिशत कायम राख्नुपर्छ । तर, तेस्रो त्रैमाससम्म कृषि विकास बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकको स्प्रेड ५ प्रतिशतभन्दा बढी छ ।

जसमध्ये कृषि विकास बैंकको स्प्रेड ५.६१, नेपाल एसबीआईको ५.२४ र स्टयान्डर्ड चार्टर्ड बैंकको ५.२३ प्रतिशत छ । निर्देशन नमान्ने बैंकहरूलाई के कारबाही हुन्छ भन्ने जिज्ञासामा राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अहिलेसम्म यसबारे छलफल नै भएको छैन, पहिले वास्तविकता बुझ्नुपर्छ अनि मात्र कारबाहीको प्रक्रिया अघि बढछ ।’ तीमध्ये केही बैंकहरूले यसअघिका त्रैमासहरूमा पनि स्प्रेडको निर्देशन नाघिसकेका छन् । ती बैंकहरूलाई कारबाही किन नभएको भन्ने जिज्ञासामा ती अधिकारी बोल्न चाहेनन् । निर्देशन पालना नगर्ने बैंकहरूलाई पनि राष्ट्र बैंकबाट कारबाही नहुँदा वित्तीय क्षेत्रमा नियम पालना नगर्ने प्रवृत्ति बढदै गएको विज्ञहरू बताउँछन् ।

निर्देशित सीमाभन्दा माथि स्प्रेड रहनुका कारणबारे कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले भने, ‘बैंकिङ प्रणालीबाट सञ्चालन हुने धरै सरकारी कार्यक्रमहरूमा हाम्रो बैंकको सहभागिता छ, ती कार्यक्रमको सञ्चालन लागत धेरै हुन्छ, यसको असर स्प्रेडमा परेको हो ।’ सरकारी कार्यक्रमको लागत घटाउने हो भने बैंकको स्प्रेड सीमाभन्दा धेरै कम हुने उनले दाबी गरे । ‘यसकारण हालसम्म राष्ट्र बैंकले केही भन्न नसकेको होला ?’ उनले भने ।

विभिन्न कारणले अघिल्ला त्रैमासहरूदेखि नै ५ प्रतिशतभन्दा बढी रहेको स्प्रेड पछिल्ला वर्षहरूमा निरन्तर सुधिँ्रदै गएको स्टयान्डर्ड चार्टर्ड बैंकका ब्रान्ड मार्केटिङ एवं संस्थागत मामला प्रमुख दिवाकर पौडेलले बताए ।

‘हामी निरन्तर सुधारको क्रममा छौं,’ उनले भने, ‘यो वर्षको अन्त्यसम्म निर्देशित सीमाभित्रै हुने देखिन्छ ।’

सबै प्रकारका नियम पालनामा आफूहरू सजग रहँदारहँदै पनि तेस्रो त्रैमासमा बैंकको स्प्रेडले थोरै निर्देशित सीमा नाघेको नेपाल एसबीआई बैंकका प्रवक्ता रमेश घिमिरेले बताए । ‘तरलताका कारण यो वर्ष सम्पत्ति तथा दायित्व व्यवस्थापनमा केही दबाब परेकाले स्प्रेड बढेको होला, आउँदो त्रैमाससम्ममा यो सीमाभित्रै आइपुग्छ,’ उनले भने, ‘नियम पालनाका हिसाबले हामी निकै सचेत छौं ।’

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको ऋण प्रवाह २१ प्रतिशतले बढेर १९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकहरूको निक्षेप संकलन १६.२१ प्रतिशतले मात्र बढेको छ । यसकारण बैंकहरूको निक्षेप संकलन र कर्जा विस्तारबीच सन्तुलन मिल्न नसक्दा वित्तीय विचलन बढेको हो । यो अवधिमा केही बैंकहरूको निक्षेपमा राम्रो सुधार भएको देखिन्छ । तीमध्ये धेरै बैंकको निक्षेप बढ्नुको कारण मर्जर तथा एक्विजिसन हो । यसले निक्षेप संकलनको मामलामा बैंकहरू निकै पछि रहेको स्पष्ट हुने जानकारहरू बताउँछन् ।

सम्पत्ति तथा दायित्व व्यवस्थापनमा बैंकहरूको कमजोरी देखिए पनि खराब कर्जाको अवस्थामा भने सुधार भएको छ । गत चैतसम्म बैंकहरूको खराब कर्जा औसतमा १.५२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात १.६२ प्रतिशत थियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij