टेनिस रोका, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी ९ वैशाखमा पार्टी एकता घोषणाको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणअघि नै एकताको तयारी गरिए पनि दुई दलबीच एकताको खाकाको अन्तिम टुंगो नलागेपछि अब भारत भ्रमणपछि मात्र हुने भएको छ ।
एकताको खाका तय गर्न गठित दुईवटा कार्यदलले मस्यौदा प्रतिवेदन तय गर्न ढिलाइ गरेसँगै अब लेनिन जयन्तीका दिन ९ वैशाखमा एकता गर्ने तयारी गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार चितवनमा पुगेर आगामी ९ गते एकता घोषणा हुने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने तयारी भए पनि सम्भव नरहेको बताए । आगामी २३ चैतदेखि प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्दै छन् ।
अध्यक्ष दाहालले कार्यदलले तय गरेको प्रतिवेदनलाई आज (मंगलबार) देखि नै छलफल गरेर केही दिनमै अन्तिम टुंगो लगाउने र ९ वैशाखमा एकता घोषणा हुने समेत बताए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वको राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलमा सहमति जुटिसके पनि माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा संयोजकत्वको सांगठनिक तथा विधान मस्यौदा कार्यदलमा केही प्राविधिक विषय अझै मिल्न बाँकी छन् ।
राजनीतिक प्रतिवेदनमा जनयुद्धलाई परिवर्तनको बाहकका रूपमा चित्रण गरिएको छ । सांगठनिक मस्यौदा कार्यदलमा भने जनयुद्धसहित चुनाव चिह्न, विभिन्न पार्टी कमिटीहरूको संख्या र भागबन्डाका विषयमा सहमति जुट्न बाँकी छ ।
एमालेले एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्न प्रस्ताव गरेको छ । माओवादीले त्यसलाई अस्वीकार गर्दै सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने माग राख्दै आएको छ । माओवादी केन्द्रले जनयुद्धलाई भूमिकाको रूपमा नै राख्न प्रस्ताव गरे पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।
कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३५ सदस्यीयसम्मको स्थायी समितिको प्रस्ताव गरेको छ । दुई दलमा सदस्य संख्या कुन पार्टीको कति रहने भन्ने टुंगिन बाँकी छ । यसअघि दुई दलले ७ फागुनमा एकताका सात आधारमा सहमति गर्दै एकताको खाका तय गर्न दुई कार्यदल गठन गरेका थिए । दुई कार्यदलले २५ फागुनसम्मको समयावधि पाए पनि पटकपटक समय थप गर्नुपरेको थियो ।
एमाले–माओवादी एकता
नेकपा माओवादी केन्द्रकी प्रवक्ता तथा राजनीतिक प्रतिवेदन समिति सदस्य पम्फा भुसालले दुवै कार्यदल सदस्यसहित आज बैठक बस्ने र एकताको खाकाका विषयमा छलफल हुने बताइन् । एमाले नेता तथा राजनीति मस्यौदा कार्यदल सदस्य सुवास नेम्वाङले राजनीतिक प्रतिवेदनमा सहमति जुटिसकेको जानकारी दिँदै अब एकता संयोजन समितिको बैठकबाट अन्तिम टुंगो लगाउने बताए ।
भ्रमण एजेन्डामा छलफल
पार्टी एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा पनि छलफल हुने भएको छ । २३ चैतदेखि तय भएको प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे बैठकमा छलफल हुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल
हुने बताए । राजधानीबाट