ललितपुर जिल्लाको सहकारी अभियानमा जगत महर्जनको छुट्टै नाम छ । युवा सहकारीकर्मी महर्जन ललितपुरको सहकारी अभियानको विभिन्न छाता संस्थामा रही सहकारी अभियानलाई सक्रिय योगदान पु¥याउँदै आउनु भएको छ । सहकारी अभियानको वर्तमान अवस्था र उहाँले व्यवस्थापकीय नेतृत्व गर्दै आउनु भएको स्वागतम् बचत तथा ऋण सहकारीको बारेमा स्वागतम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महर्जनसँग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ :
स्वागतम् बचत तथा ऋण सहकारीको आठौं साधारणसभा सम्पन्न गर्नुभयो । नीति तथा कार्यक्रमहरु के के बनाउनुभयो ?
स्वागतम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौं साधारणसभा २०७४ पुस २२ गते शनिबारका दिन ललितपुर महानगरपालिकाका उपमेयरको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । भविष्यमा सदस्यहरुको आर्थिक, सामाजिकरुपमा परिवर्तन गर्दै जिवनस्तरमा अझ् बढी भन्दा बढी सुधार ल्याउने कार्यक्रमहरुलाई हामीले पारित गरेका छौं । सहकारी मार्फत विभिन्न आय आर्जनमुलक तालिमहरु, व्यक्तित्व विकास र साना तथा घरेलु सम्बन्धि तालिमहरु दिई सदस्यहरुलाई आर्थिकरुपमा पनि आत्मनिर्भर बनाउने योजनालाई हामीले अघि सारेका छौं ।
तपाई उपाध्यक्ष रहेको बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुरलाई जिल्ला सहकारी संघले सम्मान गरेको छ । तपाईलाई कस्तो अनुभव भइरहेको छ ?
ललितपुर सहकारी क्षेत्रको उर्बर भूमि हो । ललितपुर जिल्लामा ११७७ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेका छन् । त्यसैगरी ललितपुर बचत तथा ऋण सहकारी संघमा मात्रै ४९२ सहकारी संस्था आवद्ध रहेका छन् । बचत संघले सुशासनयुक्त सहकारी संस्थाहरु सञ्चालनका निम्ति आवश्यक पर्ने सबै प्रकारका तालिमहरु दिंदै आइरहेका छ । बचत संघले राम्रै मुनाफा गर्दै आबद्ध संस्थाहरुलाई राम्रै डिभिडेन्ट दिइरहेको छ । आबद्ध संस्थाहरुको विकास तथा प्रबद्र्धनमा राम्रै सहयोग गरिरहेको र अन्तरलगानी मार्फत सेवा सुविधा दिईरहेकोले त्यसको उचित मूल्यांकन गरी ललितपुरका विषयगत संघहरु मध्ये उत्कृष्ट सहकारी संघको रुपमा सम्मान गरिएको थियो । उदाहरणीय संघको रुपमा कार्य गरिरहेको यस संघले सम्मान पाउनु स्वभाविक नै थियो । यस्तो सम्मान गरेकोमा जिल्ला सहकारी संघ ललितपुरलाई बचत संघकै तर्फबाट हार्दिक आभार व्यक्त गर्दै धन्यवाद समेत दिन चाहान्छु । त्यसैगरी यसैबर्ष राष्ट्रिय सहकारी महासंघले पनि देशकै उत्कृष्ट संघको रुपमा ललितपुर बचत संघलाई सम्मान गरेको छ । त्यसका लागि हाम्रो संघ कृतज्ञ छ र आभार व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघलाई पनि हार्दिक धन्यबाद दिन चाहान्छु ।
ललितपुरको सहकारी अभियानमा पनि युवा सहकारीकर्मीको रुपमा क्रियाशिल हुनुहुन्छ । भर्खरै बहुउद्देश्यीय सहकारी संघमा सबै जना सर्वसम्मतले चयन भएको विषयलाई यहाँको धारणा के छ ?
ललितपुरको सहकारी अभियानमा साँच्चिकै भन्नुपर्दा म कान्छो युवा सहकारीकर्मी हुँ र सक्दो क्रियाशिल पनि छु । सहकारी अभियानका हरेक गतिविधिमा म उत्तिकै सक्रिय छु । भर्खरै सम्पन्न बहुउद्देश्यीय सहकारी संघ ललितपुरमा सबैको सल्लाह, सुझाब, सहमति र सहकार्य गरी सर्वसम्मत गराउन सफल भएको छ । यो अभियानकै लागि एउटा पाठको काम गरेको छ । यसको निम्ति ललितपुरका सम्पूर्ण अग्रज सहकारीकर्मीहरु धन्यबादका पात्र हुनुहुन्छ । अभियानका हरेक छाता संगठनमा यस्तै प्रयास हुनु पर्दछ । हिजोको दिनमा सहमति र सहकार्यमा नगई अस्वस्थ चुनाब गर्ने जुन परिपाटी थियो त्यसको अन्त्य भएको छ । यस बहुउद्देश्यीय सहकारी संघको जिम्मेवारी साँच्चै नै सम्पूर्ण देशभरका संघ÷संस्थाहरुमा राम्रो सन्देश पु¥याउछ भन्ने विश्वास लिएको छु र बहुउद्देश्यीय सहकारी संघ ललितपुरमा निर्वाचित हुनुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना पनि दिन चाहान्छु ।
संसोधित सहकारी ऐन २०७४ प्रति सहकारी अभियान्तहरु कत्तिको सन्तुष्ट भएको पाउनु भएको छ ?
धेरै संघर्षका बाबजुद प्राप्त भएको सहकारी ऐन २०७४ लाई सकारात्मक रुपमा नै लिइनु पर्दछ । चुनौतिहरु त थुप्रै छन् । तर त्यसलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्दछ भन्ने मेरा भनाई हो । सम्पूर्ण सहकारीहरु अब स्थानीय निकायमा स्थान्तरण हुदैछन र नियमावली पनि आउन बाँकी नै छ । सहकारीमैत्री नियमावली बन्नेछ भन्नेमा हामी सम्पूर्ण सहकारीकर्मीहरु आशाबादी रहेका छौं ।
हाम्रो जस्तो विकासोन्मूख मुलुकमा सहकारीको भूमिका कस्तो रहला ?
यो अत्यन्त सान्दर्भीक प्रश्न हो । हाम्रो जस्तो विकासोन्मूख देशमा सहकारीको भूमिका महत्वपूर्ण रहेको हुन्छ । जनताको बचत र सहकारीको लगानी दुबै पक्षको शुनिश्चितता गर्दै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अवको जोड हुनु पर्दछ । त्यसैगरी सहकारीलाई सेयर सदस्यहरुको जिवनस्तरलाई उकास्नको निम्ति अझ सहकारी संस्थाको लगनशीलता, पारदर्शी र व्यवस्थित ढंगले अगाडि बढाउनु पर्दछ । त्यस्तै सहकारीकै माध्यमबाट समाज र देशलाई विकसित बनाउदै समृद्धीको लागि सबैले आ–आफ्न्नो ठाउँबाट उठ्नु आजको आवश्यकता रहेको छ ।

स्कूल कलेजमा सहकारी शिक्षालाई अनिवार्य गराउनु पर्ने कुरा उठिरहेको छ । त्यसमा तपाईको धारणा के छ ?
यो एकदमै जायज कुरा हो । स्कूल कलेजमा सहकारी शिक्षालाई अनिवार्य शिक्षाको रुपमा पढाउने व्यवस्था गर्न ढिलाई भइसकेको छ । सहकारी अभियानले यत्रो फड्को मासिसक्यो । लाखौं सर्वसाधारणहरु सहकारीमा आबद्ध भइसकेको अवस्थामा यो शिक्षा लागू गर्न ढिलाई भइसकेको छ । आम नेपाललीलाई सहकारी शिक्षा बुझाउनु पर्छ । त्यस भन्दा पहिलो त नीति निर्माता तहले पनि बुझ्नु जरुरी छ । युवा पुस्तालाई आकर्षित गरी स्कूल र कलेजमा सहकारी संस्था सञ्चालनको विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनु पर्छ, जुन आज आवश्यक भएको छ ।
तपाई संभवत अभियानमा सक्रिय योगदान दिने सहकारी अभियानको नेतृत्व तहमा पुगेको ललितपुरकै कान्छो युवा सहकारीकर्मीको रुपमा क्रियाशिल हुनुहुन्छ । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी सम्बन्धि केही प्रष्ट पारिदिनुहुन्छ की ?
हो, हाम्रो जस्तो विकासोन्मूख देशमा गरिबी निवारण, भोकमरी अन्त्य, स्वास्थ्यमा सर्वसाधारणको पहुँच स्तरिय र समावेशी शिक्षा लैंगिक समानता, न्यायमा समानता र जलबायु परिवर्तन र प्रभावकारी कार्य योजना लगायतका थुप्रै रुपमा हामी सहकारीकर्मीहरुले नीति निर्माताहरुसँग काँधमा काँध मिलाई अगाडि बढ्ने हो भने छोटो समयमा नै दिगो विकास र लक्ष्य प्राप्त हुन्छ भन्ने विश्वास मैले लिएको छु ।
सहकारीमार्फत महिला शशक्तिकरण, आर्थिक समावेशीकरण र उद्यमशीलताको विकास संभव छ त ?
महिला शसक्तिकरणको निम्ति सहकारीले देशैभर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सहकारिताकै माध्यमबाट नेतृत्व विकास भई देशको नीति निर्माण गर्ने स्थानमा पुग्नु थालेको सबैलाई अवगत नै छ । त्यसको ज्वालन्त उदाहरण हो, महिला सहकारी मार्फत पनि महिलाहरु संगठित भएर सहकारी संस्था सञ्चालन गर्नु । सहकारीमार्फत देशैभर आर्थिक समावेशीकरण र उद्यमशीलताको कार्यक्रमहरु देशभर जिल्ला संघहरु, विषयगत सहकारी संघहरु, सहमति सहकार्य र दिगो उद्देश्यले एकदिन अवश्य लक्ष्य प्राप्त गर्छ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा केही भन्नु छ ?
सहकारीको मुल मर्म र सिद्धान्त नै सहकार्य हो । त्यसैले हामी सहकारीकर्मीहरु एकताबद्ध भई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर, सहकार्य, सहमति र सुसंस्कृत भई अगाडि बढ्नु पर्ने आवश्यकता हो र आफ्नो सेयर सदस्यहरुको सेवा र सुविधालाई ध्यानमा राखी अगाडि बढ्न सक्यो भने हामीले परिकल्पना गरेको सहकारीमार्फत समृद्ध नेपाल साकार हुने विश्वास मैले लिएको छु ।