शुक्रबार, २६, माघ २०७४, काठमाडौं । प्रदेश नम्बर १ मा शेरधन राई मूख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले प्रदेश संसदीय दलको नेता छान्न आज शुक्रबार भएको चुनावमा राई विजयी भएपछि मुख्यमन्त्रीको लागि बाटो खुलेको हो ।
राईले २६ मतका साथ विजय हासिल गरेका हुन । राईका एकमात्र प्रतिद्वन्द्वी एमाले सचिव भिम आचार्यले २४ मत प्राप्त गरेका थिए । खसेको मत मध्ये १ मत भने बदर भएको छ । चर्चित एमाले युवा नेतासमेत रहेका राईले टिकमार्क लाउने ठाउँमा हस्ताक्षर गरिदिएपछि मत स्वतः बदर भयो । उनले हस्ताक्षर गरेर मतपत्र बाकसमा खसालेका थिए । गणनाका क्रममा बदर भएको मतपत्रमा उनको हस्ताक्षर भएको देखिएपछि यो तथ्य खुलेको हो ।
सो प्रदेशको संसदीय दलको नेतामा राई र आचार्यबीच सहमति हुन नसकेपछि आज शुक्रबार निर्वाचन भएको थियो।
को हुन राई
बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा शेरधन राईको जन्म भएको हो । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राजनीतिक यात्राको शिलशिलामा राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् ।
भोजपुर सदरमुकामदेखि एक दिनको पैदल दुरीमा जन्मेका राई सामान्य किसान परिवारमा जन्मिएका हुन । राईले विद्यालय पढ्न जाँदा बिहान बेलुका बस्तुलाई घाँस काट्नु पथ्र्यो ।
समाजका अन्यायविरुद्ध सानैदेखि लड्न तयार हुने राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भए। ०४४ सालमा अनेरास्ववियुको प्राक सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने।
२०५४ सालमा एमाले विभाजन भयो। पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगे। त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने। २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बने। २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बने। दोस्रो संविधानसभाकासमेत सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे।
दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने। पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाए। राई एमालेभित्रका युवा नेतामध्ये प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।