टपेन्द्र कार्की, काठमाडौं । नेपाली सेनाले रकम हिनामिना गरेको अभियोगमा छाउनी अस्पतालमा कार्यरत रथि (जर्नेल) डा. रमेश विष्टमाथि छानबिन थालेको छ । कृषि विकास बैंक न्युरोड शाखा कार्यालयको ४ करोड ९१ लाख रुपैयाँ हिनामिनामा गरेको अभियोगमा उनीमाथि छानबिन सुरु भएको हो ।

सैनिक जनसम्पर्क निर्देशनलयका प्रमुख एवं प्रवक्ता सहायक रथि गोकुल भण्डारीका अनुसार बंैक घोटलामा मुछिएपछि प्रारम्भिक छानबिन सुरु भएको हो ।

कृषि विकास न्युरोड शाखामा भएको घोटला प्रकरणमा बैंक प्रबन्धकसहित नेपाली सेनाका जर्नेलसम्म मुछिएका थिए । प्रहरीको अनुसन्धानले सेनाका रथि डा. विष्टको खातामा ३२ लाख रुपैयाँ भेटिएपछि उनी छानबिनको दायरामा आएका हुन् ।

नेपाल प्रहरीको आग्रहपछि सेनाले डा. विष्टलाई छानबिनको दायरामा ल्याएको हो । ‘उहाँलाई अहिले कोर्ट मार्सल गरिएको होइन, प्रारम्भिक छानबिनको क्रममा हुनुहुन्छ । छानबिनपछि जे निष्कर्ष आउँछ, त्यहीअनुसारको कारबाही हुन्छ,’ सहायक रथि भण्डारीले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानअनुसार बैंक कर्मचारीको मिलेमतोमा घोटला भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको सिलसिलामा बैंकका प्रबन्धकसहित रामेछाप नगरपालिका–८ स्थायी घर भएका प्रेमहरि ढुंगेल, गोरखा पालुङटार स्थायी घर भएका गोपाल गिरी र गोरखा बक्राङ घर भएका महेश्वर मरहठ्ठालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यीमध्ये ढुंगेल न्युरोड शाखाका तत्कालीन कामु मुख्य शाखा प्रबन्धक, गिरी इलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) प्रमुख र मरहठ्ठा कर्जा प्रमुख रहेको प्रहरीले जनाएको छ । सीआईबीले सोही बैंकको सहायक टेलर दीपिका रेग्मी, उनका सहयोगी रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी यसको मुख्य डिजाइनर भएको प्रहरीले दाबी गर्दै आएकोमा अहिले प्रबन्धक पनि पक्राउ परेपछि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीका अनुसार गिरी, घतानी र थापाकै बयानका आधारमा प्रबन्धकलाई पक्राउ गरिएको हो ।

‘अन्तर शाखा कारोबारको क्लियरेन्सको हिसाब (ईसीसी) गर्ने कार्यमा संलग्नता देखिएपछि पक्राउ गरिएको हो, रकम हिनामिनामा उनीहरूको पनि संलग्नता छ,’ डीआईजी कार्कीले भने, ‘कसले कति रकम बुझे, थप अनुसन्धान गर्दै छांै ।’
सीआईबीले पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धानका लागि उच्च अदालत पाटनबाट थुना अनुमति पाएको छ ।
कार्कीका अनुसार यो समूहले ईसीसीमार्फत हितग्राहीको खातामा रकम जम्मा गरिदिएपछि सोही चेकलाई पुनः कोर बैंकिङ सिस्टम (सीबिएस)मार्फत गैरकानुनी रूपमा रेग्मी र उनका आफन्तको खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको छ । रेग्मीको खातामा चेक जम्मा गर्दा ढुंगेल, गिरी र मरहठ्ठाको प्रत्यक्ष संलग्नता रहेको उनले बताए । सीआईबीको अनुसन्धानबाट रेग्मीले ठगी गरेको केही रकम आफन्त पर्ने सेनाका रथि डा. विष्टको खातामा समेत भेटिएको थियो ।
कृषि विकास बैंकको न्युरोड शाखामा भएको अनियमिततामा बैंकका सिनियर कर्मचारीहरूको समेत संलग्नता खुलेको छ । सो घोटालामा संलग्न भएको अभियोगमा जर्नेल विष्टलाई यस सम्बन्धमा छानबिन गरिरहेको जनाएको छ ।

४ करोड ९१ लाख घोटाला

बैंकको न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सीआईबीले केही साताअघि नै पक्राउ गरेपछि यसको थप रहस्य बाहिर आएको हो । बैंककी सहायक टेलर दीपिका रेग्मीको योजनामा घोटाला भएको अनुसन्धानमा देखिएको छ ।
रेग्मीसहित प्रहरीले बैंकका पियन रमेश थापा र सुन पसले प्रकाश घतानीलाई पक्राउ गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइसके पनि अन्य व्यक्ति पनि मुछिन सक्ने जनाएको थियो । प्रहरीले जर्नेल डा. विष्टलाई पनि बोलाएर सोधपुछ गरेको थियो । उनी सैनिक अस्पताल छाउनीमा कार्यरत छन् ।

यसरी भयो घोटाला
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’ को रकम पेन्डिङमा राखेको देखाई सो रकम दीपिकाले आफूले राख्ने गरेकी थिइन् । करिब एक वर्ष अघिदेखि उनले पटकपटक गरेर बैंकमा घोटाला गरेको अनुसन्धानमा खुलेको छ । बैंकको आन्तरिक छानबिनमै सो कुरा खुलेपछि सीआईबीमा उजुरी गरिएको थियो । दीपिकाको बयानका आधारमा अन्य कर्मचारी पक्राउ परेका हुन् ।
घोटाला भएकोमध्ये ३२ लाख रुपैयाँ जर्नेल विष्टको बैंक खातामा भेटिएको थियो । दीपिका र विष्ट आफन्त भएको प्रहरीले जनाएको छ । अहिले सो मुद्दा राष्ट्र बंैकको अनुरोधमा सीआईबीको आर्थिक अपराध हेर्ने पिलर नम्बर २ ले अनुसन्धान गरिरहेको छ । कृषि विकास बैंकको स्वयम्भू शाखाबाट पनि यसअघि करोडांै रुपैया घोटाला भएको थियो ।

राजधानीबाट