३० कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजले पश्चिम सेती जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । ७५० मेगावाटको उक्त आयोजनामा लगानी गर्ने सम्बन्धमा दुबै संस्थाबीच संझौता सम्पन्न भएको छ ।
रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा नेपाल विद्युत प्राधिकरणबीच सम्झौता सम्पन्न भएको छ ।
बिहीबार नै संझौता गर्ने गरी चिनियाँ टोली काठमाडौं आएको थियो । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै बिहीबार अन्तिम रुप दिएर फाइनल सम्झौता भएको हो ।
प्रारम्भिक सम्झौतालाई थ्रि गर्जेजको बोर्डले लामो समय पास गरेको थिएन । यसैका कारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
गएको ३ माघमा प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।
सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरेपनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो ।
थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । सन् १९९३ मा स्थापना भएको यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।
बुढिगण्डकी आयोजना निर्माणको लागि चिनियाँ कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज भएपछि तत्काल चिनीयाँ कम्पनी नआउने हो कि भन्ने धेरैको आशंका बीच उक्त संझौता सम्पन्न भएको छ । तर थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेसँगै यो अन्यौल हटेको छ ।
२१ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले स्मेकको इजाजत रद्द गरेको थियो । त्यसपछि चिनियाँ कम्पी थ्री गर्जेजसँग संझौता भएको थियो ।