बिहीबार, कात्तिक १६, २०७४, काठमाडौं । नेपाल आयल निगमले बुवधार राति १२ बजेदेखि बृद्धि गरेको इन्धनको मूल्य १२ घण्टा पनि टिकेन । उक्त मूल्यलाई विहीवार विहान निगम सञ्चालक समितिले फिर्ता लिएको थियो ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्धि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता गरिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनलाई मध्यनजर गरी तत्काललाई मूल्य वृद्धि नगर्न आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले सञ्चालक समितिबाट मूल्य वृद्धि फिर्ता लिन लगाएका हुन् ।
निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यास प्रतिसिलिन्डिर १३५०, पेट्रोल प्रतिलितर १०० र डिजेल र मट्टितेल ७५ रुपैयाँ ५० बनाएको थियो।
अब पुरानै मूल्यमा ग्यास १३२५, पेट्रोल ९८ रुपैयाँ र डिजेल र मट्टीतेल ७३ रुपैयाँ ५० पैसामा पाइने भएको छ।