२०८३ साउन ९ शनिबार

२ करोड ४० लाखको टेण्डरमा सिन्धुपाल्चोक अध्यक्ष थापाको हत्कण्डा, रकम नपाए पछि व्यवसायीको विरुद्धमा व्यवसायी नै

ई आर्थिक    बिहिबार, कार्तिक २ २०७४
12.1K
Shares
२ करोड ४० लाखको टेण्डरमा सिन्धुपाल्चोक अध्यक्ष थापाको हत्कण्डा, रकम नपाए पछि व्यवसायीको विरुद्धमा व्यवसायी नै

कात्तिक २, काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा आव्हान गरिएको एउटा निर्माणको ठेक्का लिने विषयमा अवैधरुपमा रकम नपाएको एक व्यवसायी अहिले आफ्नै व्यवसायी साथिहरुको बद्नाम गर्न विभिन्न हत्कण्डा अपनाउन थालेका छन् । प्राप्त समाचार अनुसार सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका निलध्वज थापाले सो हत्कण्डा मच्चाएका हुन । थापाले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आव्हान गरेको टेण्डरको विषयमा टेण्डरमा सहभागी निर्माण व्यवसायी कम्पनीसँग रकम माग गरेका थिए ।

समितिले सिन्धुपाल्चोकको बाह्रविस–खागडोल ग्रामीण सडक निर्माणको लागि टेण्डर आव्हान गरेको थियो ।

समाचार स्रोतका अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको सो टेण्डरमा थापाले टेण्डरमा सहभागी निर्माण कम्पनीसँग निश्चित रकम माग गरेका थिए । वाइवा एण्ड लामा कन्स्ट्रक्सनका प्रतिनिधि सिंहबहादुर तामाङसँग थापाले आर्थिक लेनदेनको प्रस्ताव गरेका थिए । सो टेण्डरमा थापाले माग गरेको निर्माण कम्पनी ड्रागन÷वाइवा एण्ड लामा जेभीलगायत अन्य ५ कम्पनीले फर्म खरिद गरेका थिए । फर्म खरिद गर्नेमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार समेत रहनुभएका स्काई विल्डर्सका सञ्चालक यक्षध्वज कार्की समेत रहनुभएको थियो । त्यस्तै भण्डारी विल्डर्स, काश्यप निर्माण सेवा र शान्तिदेवी निर्माण सेवा रहेका थिए ।

सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका अध्यक्ष निलध्वज थापाले नै टेण्डरको व्यवस्थापन गरेको उक्त टेण्डरलाई अहिले केही समय अघि हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको विषय जस्तो संवेदनशील, मर्माहत र भावनात्मक विषयलाई लिएर जोडिएकोमा व्यवसायीहरुले खेद प्रकट गरिरहेका छन् । व्यवसायीहरुले थकाली परम्परा, संस्कार र महासंघमा राखिएको श्रद्धाञ्जली सभा सम्म गरी ९औं दिनको शोकसम्म टेण्डर बहिष्कार गर्ने निर्णय गरेका थिए । तर यो टेण्डर सो दिन र महासंघको शोक सभा पछि विड भएको थियो । उक्त कुरालाई थापाले अनावश्यकरुपमा प्रचार गरिरहेको आरोप पनि व्यवसायीहरुले लगाएका छन । आफूले नै व्यवस्थापन गरेको उक्त टेण्डरमा माग गरेको अबैध रकम नपाए पछि मात्रै हत्कण्डा गर्नु थापाको नियत प्रष्ट भएको व्यवसायीहरुले बताएका छन् ।

थापाले आफूले माग गरेको रकम नपाए पछि गौचनको हत्यासँग जोडेर विभिन्न हत्कण्डा अपनाउन थालिएको छ । सिन्धुपाल्चोक अध्यक्ष थापाले बताएको स्रोतलाई हवाला दिंदै एक दैनिक पत्रिकामा समाचार समेत छपाउन भ्याएको विषय अहिले समग्र निर्माण व्यवसायी क्षेत्रमा अहिले आलोचनाको विषय बनिरहेको छ । नेपाल निर्माण व्यवसायी महासंघ सम्बद्ध एक प्रभावशाली व्यक्तिले आर्थिक लेनदेनको विषयलाई व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुने र व्यवसायी टुटफुट हुनुले पनि तेस्रो व्यक्तिको आक्रमणको सिकार हुनु परिरहेको बताउनुभयो ।

काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका कार्यसमिति सदस्य तथा वाइवा एण्ड लामा कन्स्ट्रक्सनका सञ्चालक चन्द्रकुमार वाइवाले सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका अध्यक्ष निलध्वज थापा ठेक्कामा सहभागी नभई रकम दावी गर्दै हिड्ने ठेकेदार भएको बताउनुभयो । उहाँका अनुसार निलध्वज थापा आफ्नै क्षेत्रका व्यवसायीहरुसँग ठेक्कापट्टाको विषयलाई लिएर व्यवसायीहरुसँगै ‘बार्गेनिङ’ गरेर पैसा उठाउँदै हिड्ने गरेका व्यक्ति हुन । थापाको कन्ट्रक्सन कम्पनीको ‘नामको मात्रै’ भएको पनि उहाँको दाबी छ ।

‘कुनै कन्ट्रक्सनको काम नगरेको कम्पनीले सच्चा निर्माण व्यवसायीको मर्म बुझ्न सक्दैन ।’ उपत्यका निर्माण व्यवसायी संघका सदस्य समेत रहनुभएका वाइवा एण्ड लामा कन्ट्रक्सनका चन्द्रकुमार वाइवाले भन्नुभयो– ‘निर्माण व्यवसायको क्षेत्रमा यस्ता व्यक्तिहरुकै कारण अन्यबाट समेत असुरक्षाको महशुस गर्नुपरिरहेको छ ।’

यस्ता विषयहरुमा सरकार र सम्बन्धित सरोकारवाला निकायहरुको ध्यान जानु पर्ने पनि उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij