२३ आश्विन २०७४, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अहिले ११ बजे आकस्मिक बैठक बोलाइएको हो। यसले कमल थापा नेतृत्वको राप्रपा पनि सरकारमा सहभागी हुने संभावना बढाएको छ ।
बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ।