ठूला वाम एक ठाम :
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने भएका छन् । निर्वाचनपछि पार्टी नै एकता नै गर्ने घोषणा पनि उनीहरूले गरेका छन् ।
उम्मेदवार छनोट प्रक्रिया चलिरहेका वेला मंगलबार तीन दलले ६ बुँदे सहमति सार्वजनिक गरेका हुन् । आगामी निर्वाचनमा तालमेल गरे पनि एमाले र माओवादीले आ–आफ्नै चुनाव चिह्नसहित उम्मेदवारी दिने छन् । डा. भट्टराईको नयाँ शक्ति भने सूर्य चिह्नबाटै प्रतिस्पर्धा गर्ने भएको छ । गठबन्धनमार्फत निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी नेताहरूको छ ।

पार्टी एकता र चुनावी गठबन्धनका लागि तीन दलका तर्फबाट आठ सदस्यीय ‘पार्टी एकता संयोजन समिति’ घोषणा गरिएको छ । समितिमा एमालेबाट चार, माओवादी केन्द्रबाट तीन र नयाँ शक्तिका तर्फबाट एकजना सदस्य रहने सहमतिमा उल्लेख छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका प्रमुख नेताका रूपमा रहने भनिए पनि सदस्यहरूको नाम भने सहमतिमा उल्लेख छैन । त्यस्तै, समितिको निर्णय सहमतिमा गर्ने, पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना समितिले नै तयार पार्ने सहमतिमा उल्लेख छ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लैजाने सहमतिमा भनिएको छ ।
बचेको सिटमा ६०-४० को भागबन्डा
तीन दलले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फको निर्वाचनमा नयाँ शक्ति, अन्य दल र समूहलाई आपसी सहमतिमा निर्वाचन क्षेत्र छुट्याएपछि मात्रै बाँकी सिटमा भागबन्डा गर्ने सहमति गरेका छन् । बचेको सिटमा एमालेले ६० प्रतिशत र माओवादी केन्द्रले ४० प्रतिशत लिने गरी चुनावी तालमेल गर्ने सहमतिमा उल्लेख छ ।
संयुक्त घोषणापत्र लिएर निर्वाचनमा उम्मेदवारी
तीनै दलले प्रदेश र केन्द्रको निर्वाचनमा संयुक्त घोषणापत्रमार्फत निर्वाचन लड्ने सहमति गरेका छन् । ‘उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने । त्यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने,’ सहमतिमा भनिएको छ ।
तालमेल र एकताका लागि अपिल
ओली, प्रचण्ड र भट्टराई तीनै नेताले सम्बोधन गर्दै चुनावी गठबन्धनमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिलाई आह्वान गरेका छन् । सहमतिमा समेत सबै शक्तिलाई अपिल गर्ने उल्लेख छ । त्यस्तै, छरिएर रहेका वामपन्थी पार्टी तथा समूहलाई एकीकरणमा सामेल हुन अपिल पनि गरिएको छ ।
एकीकरणका लागि दस्तावेज मस्यौदा समिति
एकीकृत पार्टीको नीति–कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै दलका प्रतिनिधिहरू सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने सहमति भएको छ ।
एकता घोषणामा नेताले के भने ?
एकता दुईतिहाइ बहुमतका लागि : केपी ओली, अध्यक्ष, एमाले

० एकताले इतिहास रचनाको नयाँ अध्याय प्रारम्भ गरेको छ । एउटै कम्युनिस्ट पार्टीको नेतृत्वमा देश अघि बढोस् भन्ने जनताको चाहना पूरा गर्न एकताबद्ध पार्टी निर्माण गर्न हामी तीनै पार्टी सहमत भएका छौँ ।
० हामी एउटै चुनाव चिह्न लिएर अघि बढ्न सहमत भइसकेका थियौँ, तर अलिकति प्राविधिक र कानुनी समस्याका कारण सम्भव भएन, तथापि त्यस निम्ति सकेसम्म पहल गर्नेछौँ । एउटै पार्टी बनाउने सहमति भइसकेपछि अब त्यो हाम्रा लागि ठूलो विषय होइन ।
० चुनावी तालमेल कसैका विरुद्ध परिलक्षित छैन, नेपाल र नेपाली जनताको पक्षमा छ । माओवादीका कार्यकर्तालाई अलिकति क्रान्तिकारिता छाड्यो कि भन्ने लाग्न सक्छ, एमालेकालाई पनि क्रान्तिकारी र जुझारूपन छाड्यो कि भन्ने पनि हुन सक्छ, वास्तवमा हामी कसैले केही पनि छाडेका छैनौँ ।
० अबको आवश्यकता समृद्धि हो । हाम्रा लागि समृद्धि महत्वपूर्ण पक्ष हो, सत्ता होइन । यस देशको जन्मकुण्डलीमा ०७४ मा देशभक्त, वामपन्थी र प्रगतिशीलहरूको सरकार बन्ने लेखेकै छ । त्यसलाई अब कसैले मेट्न सक्ने छैन । सरकार त बन्यो–बन्यो । तर अब बहुमतको सरकार हाम्रा लागि त्यति ठूलो कुरा होइन, हाम्रो ध्यान दुईतिहाइ बहुमतसहितको सरकार निर्माणमा हुनेछ ।
० यसो भनिरहँदा मलाई अब निद्राको ट्याब्लेट धेरै बिक्ला कि भन्ने चिन्ता छैन । कसैले डराउनुपर्दैन, किनभने त्यो सरकार कमिसनखोरका पछि कुद्दैन, कसैलाई भेद्भाव र पक्षपात गर्दैन । मंसिरपछि राति–राति दिदीबहिनी सडकमा निर्धक्कका साथ हिँड्दा पनि केही फरक पर्दैन, अब बन्ने सरकारले कुनै त्यस्तो अवान्छित गतिविधि गर्न दिनेछैन ।
० हामी अत्यन्त जिम्मेवार, सन्तुलित, मैत्रीपूर्ण, बराबर हकसहितको, एउटा स्वतन्त्र सार्वभौम राष्ट्रको हैसियतको मर्यादामा रहेर छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नेछौँ । संयुक्त राष्ट्रसंघको बडापत्रभन्दा एक शब्द तलमाथि गर्दैनौँ । कसैले अर्घेल्याइँ ग¥यो भन्ने ठाउँ राख्दैनौँ, अरू कसैले पनि अर्घेल्याइँ गर्नुहुन्न भन्ने मान्यता राख्नेछौँ ।
० एकता प्रक्रिया अघि बढाउन अरू धेरै मिहिनेत गर्नुपर्नेछ । अहिलेलाई एकीकरणका लागि संयोजन समिति मात्रै बनाइएको छ । चुनाव आउँदै छ । अत्यन्त खुसियाली र उत्साहका साथ चुनावी अभियानमा सरिक हुन म एमालेका कार्यकर्तालाई आह्वान गर्छु । सहमत भएका पार्टीका कार्यकर्तालाई पनि ढुक्कका साथ महाअभियानमा अघि बढ्न आह्वान गर्छु । किनकि यो महाअभियान अन्त्य होइन, सुरुवात मात्रै हो ।
० सबै वामपन्थी पार्टीहरूलाई पनि एकीकरण अभियानमा आउन र आ–आफ्नो ताउलो बसाल्ने बानी छाड्न म आह्वान गर्छु । हामी कसैलाई पनि ठूलो–सानो भन्दैनौँ, अत्यन्तै सम्मान गर्छौँ । हिसाब–किताबमा लाग्दैनौँ । म आग्रह गर्छु– अब अनेक पार्टी किन चाहियो ? सूर्य यस्तो चिज हो–यो कसैको खेतमा मात्रै, कसैको बारीमा मात्रै लाग्छु भन्दैन । सबैतिर झलमल लाग्छ ।
१० वर्षअघिको काम पूरा भयो, एकता कांग्रेसविरुद्ध होइन : पुष्पकमल दाहाल प्रचण्ड

० शान्ति–सम्झौतामा हस्ताक्षर गर्दैगर्दा मैले यो निरन्तरतामा क्रमभंगता मानव समाजको, मानव चिन्तनको विकासको नियमको हो भनेको थिएँ, आज एमालेसँगको सहमतिपछि त्यही क्रमभंगता भएको छ ।
० शान्ति–प्रक्रियापछि एउटै कम्युनिस्ट पार्टी आवश्यक छ भनेर हामीले पहल थाल्यौँ । एकताका विषयमा एमाले र माओवादीबीच गम्भीर छलफल भयो । हामीले दस्तावेजै तयार पारेर केन्द्रीय कमिटीमा छलफल पनि चलायौँ । तर, सायद समय परिपक्व भइसकेको रहेनछ । वस्तुगत र मनोगत चाहनाबीच तालमेल नमिलेजस्तो भो । आज हामी १० वर्षअघिको त्यही अधूरो काम पूरा गर्दै छौँ । यो एकता ऐतिहासिक आवश्यकताबाट निर्देशित छ ।
० राजनीति धेरै सम्भावनाको खेल हो । धेरै ठूलो प्रयासपछि यहाँ आइपुगेका छौँ । यो तालमेल र पार्टी एकता गर्ने प्रक्रिया कसैविरुद्ध परिलक्षित होइन, देश र जनता, राष्ट्रिय स्वाधीनता र समृद्धिको पक्षमा छ । कोही पनि भ्रमित हुन जरुरी छैन । मधेसकेन्द्रित दल र अन्य लोकतान्त्रिक पार्टीसँग पनि तालमेलको ढोका खुला छ । सम्भव हुने हदसम्म तालमेल गरेर बचेको अंशमा हामी (एमाले–माओवादी केन्द्र) बीच ६०-४० को अनुपातमा तालमेल हुनेछ ।
० तालमेल र एकता एक्काइसौँ शताब्दीको नयाँ मोडलको समाजवादको स्थापनाद्वारा विश्वलाई सन्देश दिने उद्देश्यले गरिएको हो, कसैले पनि संकुचित दायरामा बुझ्नु हुँदैन । कांग्रेसविरुद्ध लक्षित छैन ।
० एकता प्रक्रियामा समस्या र चुनौतीहरू आउलान्, तर सबै कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहयोग भयो भने समृद्ध समाजवादको नयाँ मोडल प्रस्तुत गर्न सक्नेछौँ ।
एकताले मुलुकलाई नयाँ युगमा प्रवेश गराउँदै छ : डा. बाबुराम भट्टराई

० एउटा पुस्ताले नेपालको भौगोलिक एकीकरणको प्रक्रिया सम्पन्न गरेको छ । अब हाम्रो पुस्ताले राष्ट्रिय एकतासहित आर्थिक–सामाजिक रूपान्तरण गर्दै मुलुकलाई समाजवादमा पुर्याउने अभिभारा पूरा गर्नुपर्छ । हिमाल–पहाड–तराईबीचको इन्द्रधनुषरूपी एकतालाई अझ बलियो बनाउँदै मुलुकको विकासलाई अब नयाँ उचाइमा पुर्याउनुपर्छ ।
० मुलुक समुन्नत समाजवादमा लैजान मुलुकका वाम–प्रगतिशील शक्तिबीच एकता हुनुपर्छ भन्ने जनताको चाहना पूरा गर्न हामी एकताको दिशामा अघि बढेका छौँ । प्रदेश र संघको चुनावमा दुईतिहाइ बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्दै राजनीतिक स्थिरता कायम हुनुपर्ने जनताको चाहना पूरा गर्छौं ।
० यो एकता एउटा ऐतिहासिक परिघटना हो । यसले बृहत् ध्रुवीकरणमार्फत मुलुकलाई नयाँ युगमा प्रवेश गराउनेछ ।
६ बुँदे सहमतिमा हस्ताक्षर

१) एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा नेकपा एमालेको तर्फबाट चारजना, माओवादी केन्द्रका तर्फबाट तीनजना, नयाँ शक्ति पार्टीका तर्फबाट एकजना नेता रहने । नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिका रहने । पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने । पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने । सहमति हुन बाँकी विषयमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ ।
२) एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्ताबेज मस्यौदा समिति गठन गर्ने। प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने ।
३) पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने। तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यस महान उद्देश्यअनुरूप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने। छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने ।
४) आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने ।
५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने। यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने। प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने ।
६) आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालेमलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने ।
स्रोत : नयाँ पत्रिका