३० भदौ, काठमाडौं । नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रवार बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार नेपाल हाइड्रोको आइपीओमा १ लाख ७३ हजार ५ सय १ जनाको रू.१ अर्ब ५० करोड बराबरको आवेदन परेको थियो । सो आवेदकमध्ये १ लाख ७१ हजार ५ सय ९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९ सय ९ जनाको आवेदन रद्द भएको छ । बाँडफाँटमा स्वीकृत भएका आवेदकमध्ये ३६ हजार २ सय ७० जनाले १० कित्ता शेयर हात पारेका छन् । अन्य १ लाख ३५ हजार ३ सय २२ जनाको हात खाली भएको छ ।
कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता शेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यो आइपीओमा १ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका थिए ।
धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट शेयर बाँडफाँट गर्न सकिने नियम छ । आवेदक धेरै भएका कारण नेपाल हाइड्रोको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ ।