२०८३ साउन ९ शनिबार

आचारसंहिता केही दिनका लागि फिर्ता हुनुपर्ने : उपप्रधानमन्त्री गच्छदार

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
4.3K
Shares
आचारसंहिता केही दिनका लागि फिर्ता हुनुपर्ने : उपप्रधानमन्त्री गच्छदार

२६ भदौ, विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरु निर्वाचनमा सहभागी भएपछि संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने स्पष्ट पार्नुभयो ।

असोज ३ गतेदेखि शुरु हुन गइरहेको संसद्को बैठकमा स्थानीय तह सञ्चालनलगायतका ऐन पारित हुने जानकारी गराउँदै उहाँले कानूनको अभावमा कतिपय काम गर्नमा समस्या सिर्जना भएको बताउनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहनुभएका उहाँले संसद् र प्रदेशको निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन आयोगले धेरै पहिले हठातमा आचारसंहिता जारी गरेकाले प्रशासनिक कामकाज प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आचारसंहिताको कारण आफ्ना मन्त्रालय मातहतका १०० उपसचिव, ३०० अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापन गर्न नसकिएको र यतिखेर ६७ वटा गाउँपालिका कर्मचारीविहीन अवस्थामा रहेको छ ।”

राज्यको पुनःसंरचना भएको र मुलुक अहिले पनि संक्रमणकालमा रहेको कारणले कतिपय ठाउँमा कर्मचारी पठाउनुपर्ने, प्रदेशको राजधानी तोक्नुपर्ने र बाढीबाट क्षति भएका बाटोघाटोको मर्मतमा समेत कठिनाइ भएकाले केही दिनका लागि आचारसंहितालाई फिर्ता लिन निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

संसदीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची माग गरिएको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले यसअघिको निर्वाचनमा प्रत्यक्षको उम्मेदवारीपछि दलहरुले बन्दसूची बुझाउने गरेकामा यसपल्ट पहिले नै माग गरिएकाले यस विषयमा छलफल गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहनुभएका उहाँले संसदीय र प्रदेशको निर्वाचनमा मधेशवादी दललगायत कुनै पनि दलसँग निर्वाचनमा सहकार्य गर्न पार्टी तयार रहेको जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij