२०८३ साउन ९ शनिबार

जनता बैंकले गुरु प्रसाद न्यौपानेको ८५ हजार कित्ता शेयर जफत गर्ने, लगानीकर्तालाई ‘फाइदा’

ई आर्थिक    शुक्रबार, भाद्र २३ २०७४
3.6K
Shares
जनता बैंकले गुरु प्रसाद न्यौपानेको ८५ हजार कित्ता शेयर जफत गर्ने, लगानीकर्तालाई ‘फाइदा’

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार जनता बैंक नेपालका तत्कालीन सञ्चालक गुरुप्रसाद न्यौपानेका परिवारको नाममा रहेको शेयर जफत गरिने भएको छ ।

जनता बैंकको सञ्चालक रहेकै बेला न्यौपानेले प्रचलित कानूनविपरीत श्रीमती सुमित्रादेवी न्यौपानेको नाममा किनेको शेयर जफत गर्न केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

न्यौपानेको परिवारको नाममा रहेको शेयर विषयमा राष्ट्र बैंकमा उजूरी परे पछी राष्ट्र बैंकले भदौ ११ गते जनता बैंकलाई पत्र लेख्दै सर्वसाधारण समूहमा रहेको ५२ हजार ४७० कित्ता एवं त्यसबाट प्राप्त बोनस र हकप्रद शेयरसमेत जफत गर्न निर्देशन दिएको हो। सोहीबमोजिम जनता बैंक बोर्डले शेयर जफत गर्न प्रक्रिया अघि बढाएको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा सञ्चालकले पदमा बहाल रहँदा आफू र आफ्ना परिवारका नाममा आफै आबद्ध भएको संस्थाको शेयर खरीद गर्न नपाउने व्यवस्था छ । न्यौपानेले श्रीमतीका नाममा उक्त शेयर खरीद गरेको उजुरीमा छानबिन गर्दा पुष्टि भएकाले उक्त शेयर र यसको बोनस तथा हकप्रदसहित सबै जफत गर्न जनता बैंकलाई करीब १ साताअघि निर्देशन दिएको हो । यसअघि २०७३ पुस १२ गते जनता बैंकसँग राष्ट्र बैंकले स्पष्टीकरण मागेको थियो ।

तत्कालीन अवस्थामा किनेको शेयरमा ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस थपिँदा अहिले न्यौपानेको नाममा जम्मा शेयर सङ्ख्या ८५ हजार १ कित्ता पुगेको बताइएको छ । राष्ट्र बैंकको निर्देशनलगत्तै उक्त शेयर जफत गर्न जनता बैंकले प्रक्रिया अगाडि बढाएको बताएको छ । बैंकले आफ्नो २३२औं सञ्चालक समिति बैठकबाट शेयर जफत गर्ने निर्णय गरेको हो। निर्णय अनुसार बैंकले जफत शेयरलाई बोलकबोलमार्फत सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। यसबाट बैंकलाई २ करोड बढी आम्दानी हुने देखिएको छ। लिलाम मार्फत बिक्री गरिने उक्त सेयरको आम्दानी बैंकको आम्दानीमा गणना हुने भएकाले यसबाट सर्वसाधारण लगानीकर्तालाई फाइदा पुग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij