२७ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपरको साउन २७ गते शुक्रबार (आज)देखि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको यस आइपीओको २ प्रतिशत शेयर कर्मचारीलाई छुट्याइएको छ । यसआधारमा कर्मचारीले ७ हजार ८०० सय कित्ता शेयर पाउनेछन् ।
त्यस्तै, सामूहिक लगानी कोष कम्पनीहरुले ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता शेयर पाउनेछन् । यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको साधारण शेयरमा आस्बा प्रणाली मार्फत मात्र आवेदन गर्नु पर्नेछ । धितोपत्र बोर्डले गत साउन १ गतेदेखि सार्वजनिक निष्कासनमा आश्वा अनिवार्य गरेको हो ।
साथै धितोपत्र बोर्डले जारी गरेको नयाँँ ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका’ अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता शेयर दिनैपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्पूर्ण आवेदकहरुले १० कित्ता अनिवार्य पाउने छन् । साथै शेयर भर्दा लगानीकर्ताहरुले ठूलो रकम खर्च गर्नुपर्दैन । न्यूनतम ५ हजारदेखि १० हजार रुपैयाँसम्म एक जनाले लगानी गर्दा पुग्छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजार काठमाडौंमा गएर आवेदन दिन सक्नेछन् । यसबाहेक आस्वा अनुमति लिएका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पनि शेयर भर्न सकिनेछ । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ ।