१८ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
बैंकले १० बराबर ४ कित्ता (१०ः ४)को अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रदमा साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र असोज ८ गतेसम्म आवेदन दिन पाउनेछन् ।
बैंकको हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, मुक्तिनाथको रजिष्टर्ड कार्यालय कमलादी र यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदका लगि आवेदन दिन सकिनेछ ।
बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको थियो ।