२९ असार, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले बिहीबार (आज)देखि ८२ हजार ५ सय २३ दशमलव ८० कित्ता संस्थापक समूहको हकप्रद शेयर लिलामीबाट बिक्री खुल्ला गरेको छ । सर्वसाधारणले पनि बोलकबोलबाट किन्न मिल्ने गरी बैंकले आजदेखि बिक्री शुरु गर्ने भएको हो ।
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति साउन ५ गते सम्म रहेको छ । बैंकले २०७३ चैत १३ गतेदेखि २०७४ वैशाख २६ गतेसम्म हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरि आवेदन नपरेको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा टुरिजमको चुक्ता पुँजी १ अर्ब ११ करोड २० लाख रुपैयाँ छ । बैंकले २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टुरिजम बैंक अहिले मेगा बैंकसँग गाभिने प्रकृयामा छ ।