२०८३ साउन ९ शनिबार

साढे ३३ किलो सुुन तस्करीका नाइके दुबईमा पक्राउ, थप २ किलो अवैध सुनसहित पक्राउ

ई आर्थिक    बिहिबार, असार ८ २०७४
5.6K
Shares
साढे ३३ किलो सुुन तस्करीका नाइके दुबईमा पक्राउ, थप २ किलो अवैध सुनसहित पक्राउ
नवराज मैनाली, काठमाडौँ   |
कानुनी जटिलताले नेपाल ल्याउन समस्या –

प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुवैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए । खरेल र पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सोही आधारमा युएई प्रहरीले उनीहरूलाई केही दिनअघि पक्राउ गरेको हो ।

सेटिङ गरेर दुई वर्षदेखि सुन तस्करी
सिआइबीले गत २० पुसमा पिंगलास्थानबाट साढे ३३ किलो सुनसहित तीन युवकलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्ने क्रममा सो सुन दुबईमा रहेका व्यक्तिहरूले नेपाल पठाएको र विमानस्थलमा सेटिङ गरेर दुई वर्षदेखि तस्करी गर्दै आएको खुलेको थियो । अनुसन्धानका क्रममा उक्त सुन हरिशरण खड्का, रोशन (गुप्तलाल) भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल र प्रमोद श्रेष्ठलगायतको भएको खुलेको थियो । उनीहरू सबै फरार रहँदै आएकोमा खरेल र पन्थ भने पक्राउ परेका हुन् ।

सुन तस्करीमा फरार रहेका अन्य व्यक्तिहरू दुबईको बर दुबई भन्ने ठाउँमा याक एन्ड यती सुन पसल तथा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । दुईजना पक्राउ परेपछि उनीहरू युएईमा भूमिगत भएका छन् । राज्यका विभिन्न निकायलाई प्रभावमा पारेर उनीहरू डेढ वर्षदेखि सुन तस्करी गरेर रातारात करोडौँको मालिक भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको सम्पत्तिको पनि अनुसन्धान गरिरहेको छ । उक्त गिरोहका १२ जनालाई सिआईबीले पक्राउ गरी २१ जना फरारसहित ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

पाँच भरियामार्फत १४२ पटक तस्करी
सिआइबीका अनुसार उनीहरूले पछिल्लो डेढ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै करिब दुई हजार केजी सुन तस्करी गरेर नेपाल भित्राएका थिए । तस्करीमा खटाएका पाँच भरियामार्फत १४२ पटक तस्करी गरेको पुष्टि भएको थियो । विमानस्थलबाट सुन तस्करी हुने गरेको सूचनाका आधारमा गत २० पुसमा सुन लिएर आएका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा विमानस्थलका प्रहरी र कर्मचारीसमेत पक्राउ परेका थिए । प्रहरीले एसएसपी श्याम खत्री, एयरपोर्टका भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राज ढकाल, श्याम श्रेष्ठ, न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीविरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यस्तै, तस्करीमा सहयोगीको भूमिकामा उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेल, सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ र प्रद्युम्नहरि श्रेष्ठ, विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयललगायतलाई फरार प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये भन्सारका कर्मचारी जेल चलान भएका थिए भने एसएसपी खत्रीलगायत सुन पसले धरौटीमा छुटेका छन् ।

कानुनी जटिलताले नेपाल ल्याउन समस्या
कानुन निर्माणका क्रममा भएका त्रुटिले विदेशमा पक्राउ परेका अभियुक्तलाई नेपाल ल्याउन समस्या भएको छ । संगठित अपराध ऐनमा मुद्दा दायर भई फरार भएको व्यक्तिउपर अदालतले पक्राउ पुर्जी जारी गर्ने प्रावधान छैन, हदम्याद मात्र जारी हुन्छ । तर, युएई प्रहरीले अर्जुन खरेललाई नेपाल पठाउन अदालतको पक्राउ पुर्जी मागेको छ । जसका कारण समस्या भएको हो । हतारमा कानुन बनाउँदा यस्तो त्रुटि भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

पक्राउ पुर्जी पठाउन नसकेपछि सिआइबीले सुन तस्करीको आरोपमा दुबईमा पक्राउ परेका खरेल र राजन पन्थको संलग्नताको थप प्रमाण संकलन गरी इन्टरपोलमार्फत युएई प्रहरीलाई पठाएको छ । पक्राउ परेका दुवैजना युएई प्रहरीको हिरासतमा छन् । उनीहरूलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी त्यहाँको प्रहरीले गरेको छ ।

थप २ किलो अवैध सुनसहित पक्राउ
अनु आचार्य, रसुवा   |

चीनको केरुङबाट अवैध रूपमा ल्याइएको दुई किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल रसुवाको लहरेपौवा बस्ने कृष्णबहादुर श्रेष्ठ र काठमाडौं पासिकोट गोल्डेन चोक बस्ने रूपेश भनिने दिनेश रोकालाई रसुवागढीबाट पक्राउ गरिएको हो ।

विशेष सुराकीको आधारमा जाँच गर्दा मोटरसाइकलको ट्याङकीमा फल्स बटम बनाई लुकाएको अवस्थामा सुन भेटिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बताए । उनले भने, ‘बा ७६ प ७८१० नम्बरको पल्सर बाइकमा सुन ल्याइँदै छ भन्ने थाहा पाए सँगै विशेष निगरानी गरिराखेका थियौँ, सुरुमा सुन भेटिएको थिएन् । अन्तिममा मोटरसाइकलको ट्याङकीमा फल्स बटर बनाएको भेटियो । दुईजनालाई सुनसहित पक्राउ गर्न सफल भयौँ ।’

सुनसहित मंगलबार पक्राउ परेका दुवैजनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद गरिएको सुनको मूल्य करिब ९३ लाख २ हजार ५ सय रहेको प्रहरीले जनाएको छ ।

तस्करी बढ्दो
पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि खुलाइएको रसुवागढी नाकाबाट सुन तस्करी बढेको छ । आर्थिक वर्ष २०७३-७४ मा चीनको केरुङबाट अवैध रूपमा सुन भित्राउने ६ जना भरिया पक्राउ परेका छन् । पक्राउ परेका भरियाबाट २० किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अहिलेसम्म प्रहरीले सुन तस्करी गर्नेलाई रसुवागढी नाकाबाट नै पक्राउ गरिरहेको छ । पक्राउ पर्नेमा अधिकांश बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर रसुवा आएका छन् ।

कहिले कहाँबाट पक्राउ ?
३० जेठ २०७३ मा रसुवा टिमुरे–५ का काङकाङ तामाङ ६ किलो सुनसहित टिमुरेबाट पक्राउ परे । ६ पुस २०७३ मा रसुवा गत्लाङ–२ का बिरेन लामा ५ किलो सुनसहित टिमुरेबाट पक्राउ परे । १० माघ २०७३ मा सिन्धुपाल्चोक सिम्पाल काभ्रे–७ का चक्रबहादुर धमला १ सय १७.३२ ग्राम सुनसहित टिमुरेबाटै पक्राउ परे । ३ चैत २०७३ मा रसुवा उत्तरगया– २ का प्रकास गैरे ७ किलो सुनसहित टिमुरेबाट पक्राउ परे ।

नेपाल–चीन–भारत जोड्ने त्रिदेशीय मार्गका रूपमा विस्तार भइरहेको रसुवागढी नाकाबाट पछिल्लो समयमा सुन तस्करी हुने क्रम बढ्न थालेको हो । सीमा नाकामा अवैध रूपमा तस्करी बढेसँगै प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij