७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधबार एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ । ३३.३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपात हकप्रद सेयरपश्चात बैंकको शेयर मूल्य समायोजन भएको हो ।
हकप्रद समायोजनपछि एभरेष्टको शेयर कारोबार प्रतिकित्ता १२ सय ७४ रुपैयाँमा खुलेको छ । बैंकको औसत आधार मूल्य भने १५ सय ५३ रुपैयाँ छ । बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद असार १८ गतेदेखि साउन २२ गतेसम्म एनआइबीएल क्यापिटल मार्केट्स मार्फत जारी गर्दैछ ।
बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ । पुँजी गत वर्षको भन्दा ६७.९६ प्रतिशतले वृद्धि भएको हो । बैंकको रिजर्भ कोषमा भने ५ अर्ब ४३ करोड ३५ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ चार पैसा छ ।