२०८३ साउन ९ शनिबार

आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता

ई आर्थिक    आइतबार, असार ४ २०७४
6.1K
Shares
आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता
नयाँ पत्रिका, काठमाडौं   | आगामी १४ असारमा तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

आयोगले शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सम्पूर्ण तयारी पूरा भएको भन्दै मतदातालाई निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)को विरोधपछि सरकारले प्रदेश नम्बर २ को निर्वाचन भने २ असोजका लागि सारेको छ । तर, राजपाले भने अझै प्रदेश नम्बर ५ का तीन जिल्लामा निर्वाचन रोकिनुपर्ने दाबी गर्दै आएको छ । निर्वाचन कार्यतालिकाअनुसार ४ असारमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने ६ असारमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । र, सोही दिन निर्वाचन चिह्न पनि प्रदान गरिनेछ ।

सुरक्षा व्यवस्था मजबुत निर्वाचनका क्रममा उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता गतिविधिलाई निरुत्साहित गरी शान्ति–सुरक्षा कायम गर्न सक्षम रहेको आयोगले उल्लेख गरेको छ । ‘आफ्नो अधिकारको कुरा गर्दा मतदाताको मतदान गर्न पाउने, उम्मेदवार भएर मतदाताबाट परीक्षण हुन पाउने र निर्वाचित जनप्रतिनिधिबाट सेवा लिन पाउने जनताको अधिकारको सबैबाट सम्मान हुने विश्वास आयोगले लिएको छ,’ पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले भने । उनले उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षित व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवं सुरक्षित बनाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकिएको बताए ।

साथै, निर्वाचनको सुरक्षा व्यवस्था सरकारले मिलाउने प्रतिबद्धता गरेको उल्लेख गर्दै आयोगले आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाप्रति विश्वस्त रहेको बताएको छ । मतदानमा प्रयोग हुने सामग्रीको सुरक्षा, ढुवानी व्यवस्थापन, मतदानस्थलको सुरक्षा तथा मतदाता, राजनीतिक दलको कार्यालय, उम्मेदवारको भरपर्दो सुरक्षा व्यवस्था सरकारले गरेको आयोगको भनाइ छ ।  निर्वाचन कार्यतालिका उम्मेदवारको  मनोनयनपत्र दर्ता गर्ने ४ असार  मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने ४ असार उम्मेदवारको विरोधमा उजुरी दिने ५ असार मनोनयनपत्र जाँच गर्ने ५ असार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने ५ असार उम्मेदवारले नाम फिर्ता लिने ६ असार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ६ असार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने ६ असार मतदान गर्ने १४ असार

कहाँ कति स्थानमा निर्वाचन हुँदै छ ?
१४ असारमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदै छ ।  निर्वाचनमा ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिनेछन् । मतदाता शिक्षाका लागि आयोगले दोस्रो चरणको निर्वाचनमा हरेक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको बताएको छ ।

पर्यवेक्षक सात हजार 

दोस्रो चरणको निर्वाचनमा करिब सात हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्न पाउनेछन् । विभिन्न ४७ संस्थाका ७ हजार ८९ जना पर्यवेक्षक हुने निर्वाचन आयोगको भनाइ छ । नेपालमा रहेका १२ वटा कूटनीतिक नियोगका सदस्यले निर्वाचनका लागि एकदिने अवलोकन गर्न पाउनेछन् । त्यसका लािग निर्वाचन आयोगले प्रदेश नम्बर १ विराटनगर र धनकुटा, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेल्धुरामा अवलोकनको व्यवस्था मिलाएको छ ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij