२०८३ साउन ९ शनिबार

व्यापार घाटा सात खर्ब, पहाडी क्षेत्रमा मूल्य बढ्दो

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
2.9K
Shares
व्यापार घाटा सात खर्ब, पहाडी क्षेत्रमा मूल्य बढ्दो

२६ जेठ, काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।

यस्तै, तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौं उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराइमा ८.६, हिमालमा ९.१ र काठमाडौं उपत्यकामा ११.५ प्रतिशत रहेको थियो । सरकारले बजार अनुगमनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हडताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । ‘वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ’– नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर १० प्रतिशत थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैङ्कले बताएको छ । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूहअन्तरगतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४, तरकारीको मूल्यमा १३.१ र घ्यू तथा तेलको मूल्यमा १.९ प्रतिशत कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।

सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति भने ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १०.४ प्रतिशत थियो । यस समूहअन्तरगतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम हुन गएको हो ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशत वृद्धि भएको थियो । देशबाट बाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर रू. ५३ अर्ब ८४ करोड बचतमा रहेको छ । यद्यपि चालू खाता भने रू. ७ खर्ब ५७ करोड घाटामा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij