३ जेठ, काठमाडौँ। राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको नौ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालू आर्थिक वर्षमा औद्योगिक उत्पादन १०.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । गत वर्षमा ऋणात्मक रहेको औद्योगिक उत्पादनमा क्रमशः सुधार हुँदैगएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा औद्योगिक उत्पादन ६.३ प्रतिशतले ऋणात्मक रहेको बैंकको संशोधित अनुमान छ । देशभर लोडसेडिङ अन्त्य गर्ने सरकारको अभियान अनुसार विद्युत् आपूर्तिमा क्रमशः सुधारसमेत हुँदैगएको छ । यसको प्रत्यक्ष प्रभाव औद्योगिक क्षेत्रमा परेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा पनि चालू आर्थिक वर्षमा क्रमिक सुधार देखिएको छ । अनुकुल मौसमका कारण चालू आवमा यो क्षेत्रले ५.३ प्रतिशतसम्मको वृद्धिदर हासिल गर्न सक्ने अनुमान गरिएको छ । गत आवमा यो वृद्धिदर ०.०३ प्रतिशतमा सीमित थियो । अपेक्षा गरिएभन्दा राम्रो बर्षा, पुनर्निर्माणको काम र ऊर्जा आपूर्तिले समग्र आर्थिक बढी हुन सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । केन्द्रीय तथ्याङ्क विभागको ६.९ प्रतिशतको प्रक्षेपणलाई आधार मानेर राष्ट्र बैंकले लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर पार हुने जनाएको छ । बैंकका अनुसार सेवा क्षेत्रको अवस्था पनि चालू आवमा सुखद देखिएको छ ।
गत वर्ष २.०६ प्रतिशतको मात्र वृद्धिदर हासिल गरेको यो क्षेत्रले चालू आवमा ६.९ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान राष्ट्र बैंकको छ ।
फागुनभन्दा चैतमा महँगी
राष्ट्र बैंकको नौ महिनासम्मको तथ्याङ्कले फागुनको तुलनामा चैतमा महँगी बढेको देखाएको छ । फागुनमा २.९ प्रतिशतको मुद्रास्फीति रहेकोमा चैतमा ३.८ प्रतिशत कायम भएको छ । आपूर्ति व्यवस्थामा आएको सुधार र आधार मुल्यको प्रभावका कारण चालू आवमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको जनाइएको छ । तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा मुद्रास्फीति दर अन्य क्षेत्रको भन्दा कम छ । गत आवको नौ महिनासम्मको अवधिमा ११.७ प्रतिशतको मुद्रास्फीति व्यहोरेको काठमाडौँ उपत्यकामा चैतमा यो दर २.७ प्रतिशतमा सीमित छ । काठमाडौँपछि हिमालमा २.८, तराईमा ३.४ र पहाडमा सबैभन्दा बढी ५.६ प्रतिशत मुद्रास्फीति रहेको छ । चैत महिनामा भारतको मुद्रास्फीति तीन प्रतिशत रहेको छ । यस हिसाबले दुई देशबीचको मुद्रास्फीति अन्तर ०.८ प्रतिशत कायम छ ।
मुख्य वस्तुकै निर्यात घट्यो
राष्ट्र बैंकका अनुसार नेपालबाट निर्यात हुने प्रमुख वस्तुको निर्यात घटेको छ । नौ महिनासम्मको तथ्याङ्क अनुसार अलैँची, पोलिस्टर धागो, तयारी पोशाक, उनी गलैँचा लगायतका वस्तुको निर्यात घटेको छ तर जुस, चाउचाउ, पिना, रोजीन जस्ता वस्तुको निर्यात भने बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिसम्म नेपालको निर्यात व्यापार १२.१ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब २२ करोड पुगेको छ ।
नेपालको व्यापार घाटा भने चुलिदैं गएको तथ्याङ्क राष्ट्र बैंकको छ । चैतसम्म नेपालको व्यापार घाटा ४२.६ प्रतिशतले बढेर छ सय ७१ अर्ब २० करोड पुगेको छ । यस अवधिमा आयात ३९.७ प्रतिशतले बढेर रु. सातसय २६ अर्ब ४१ करोड पुगेको तथ्याङ्क छ । निर्यातको तुलनामा धेरै गुणा बढी आयात भएकाले व्यापार घाटा फराकिलो हुँदै गएको राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।
यसबीचमा नेपालको विपे्रषण आप्रवाह ६.३ प्रतिशतले बढेर रु. पाँच सय ११ अर्ब ९३ करोड पुगेको छ । यो हिसाबले विपे्रषण आप्रवाहले पनि नेपालको आयात धान्न नसकिने पाइएको छ ।