२१ वैशाख, काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले बिक्री गरेको २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ साधारण सेयर (एफपीओ)को बाँडफाँड भोलि (शुक्रबार) हुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार स्ट्याण्डर्ड चार्टडको एफपीओ वाँडफाँड गर्ने जानकारी दिएको हो ।
यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा ३८ अर्ब भन्दा बढी रकम फ्रिज हुँदा तरलतामा समस्या भएको भन्दै ५० दिनभित्रै एफपीओ बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डले बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको थियो ।
बैंकले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता कुल १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासन गरेको थियो । कुल ३ अर्ब ३० करोड मूल्यको एफपीओमा ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन परेको थियो । देशभरका संकलन केन्द्रबाट दुई लाख २५ हजार बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन् ।
एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वामित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । चार्टर्डले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।