२७ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा क्षेत्रीय कार्यालय खोलेको छ । आफ्ना सेवाग्राहीहरूलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउन तथा शाखा कार्यालयहरूको सशक्तीकरणबाट जीवन बिमा व्यवसायको बजार विस्तार गर्ने उद्देश्यले शाखा खोलिएको इन्स्योरेन्सले जनाएको छ ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले क्षेत्रीय कार्यालय पोखराको स्थापनाबाट यस क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले बिमितहरूको लगानी प्रतिफल वृद्धि गर्न कम्पनीले हरसम्भव प्रयास गर्दै आएको र सो को सुनिश्चितताका लागि दीर्घकालीन लगानीका क्षेत्रहरूमा लगानी विस्तार गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । बिमा क्षेत्रका लागि दीर्घकालीन सरकारी विकास ऋणपत्रहरूको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा समिति अध्यक्ष चापागाईंले जीवन बिमा क्षेत्रले आम जनताको स–सानो बचत परिचालन गरि पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको जानकारी गराउनुभयो ।
जीवन बीमा कम्पनीमा सवैभन्दा अघि रहेको नेपाल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ । नियामक निकाय बीमा समितिले २०७५ असार मसान्तसम्म अन्विार्य २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने नियम लागू गरेपनि नेपाल लाइफले सोभन्दा अघि नै चुक्ता पूँजी पुर्याइसकेको छ ।
हाल नेपाल लाइफले ६ वटा क्षेत्रीय कार्यालयसँगै १ सय १० भन्दा शाखा तथा उपशाखाबाट नेपालीहरु माझ बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।