२२ चैत, काठमाडौं । सहकारी क्षेत्रको निक्षेप बैंक तथा वित्तीय संस्थामा जान थालेपछि सहकारी क्षेत्रमा तरलता अभाब बढेको छ ।
नेपालका ‘क’ वर्गका बाणिज्य बैंकहरुले समेत सहकारी संस्थाहरुले निक्षेपमा दिइरहेको ब्याज बराबर दिन थाले पछि सहकारी क्षेत्रको निक्षेप बैंक वित्तीय संस्थामा जान थालेको हो । यसअघि सहकारीमा राखिएको निक्षेपको व्याज १२ प्रतिशतको हाराहारीमा रहेको छ । जुन अहिले ‘क’ बर्गका बाणिज्य बैंकहरुले दिइरहेका छन् । यसरी आफूसँग भएको बचत बैंक वित्तीय संस्थामा जान थालेपछि तरलता अभाव बढाएको अनुभव सहकारी क्षेत्रले गर्न थालेको छ ।
सहकारी संस्थाहरुमा रहेको बचत निक्षेप निकालेर धमाधम बाणिज्य बैंक तथा अन्य बर्गका बैंक वित्तीय संस्थामा जान थालेको काठमाडौंको पाको, न्यूरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक दिनेश बज्र बज्राचार्यले जानकारी दिए । स्थानीय समुदायमा आफ्नो राम्रो छाप छोडेको मिलन बहुउद्देश्यीय सहकारीले तरलताको अभाव महशुस गर्नु नपरे पनि समग्र सहकारीमा तरलता अभाव समस्याको रुपमा देखिएको उनको भनाई थियो ।
सहकारीको पैसा बाणिज्य बैंक तथा अन्य बर्गका वित्तीय संस्थामा जान थाले पछि यो क्षेत्रमा देखिएको तरलता अभाव केही कम हुन थालेको छ । एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार उनले थाहा पाए अनुसार आफ्नो बैंकमा करिब आधा दर्जन सहकारीको निक्षेप छ । ‘सहकारीमा विश्वास नहुँदा नहुँदै पनि ब्याज बढी आउछ भनेर पहिला–पहिला निक्षेप राखिन्थ्यो ।’ उनले भने– ‘तर अहिले पहिला सहकारीले दिएको निक्षेपको व्याज अहिले बाणिज्य बैंकहरुले दिइरहेका छन् ।’ अझ ‘ख’ र ‘ग’ बर्गका वित्तीय संस्थाले त त्यो भन्दा बढि नै दिइरहेको उनको भनाई थियो । विश्वसनियताको दृष्टिकोणले सहकारी भन्दा बैंक वित्तीय संस्था नै बढी भरपर्दो भएकाले व्याजदरको ‘रेसियो’ यस्तै रहेमा सहकारीको अरु धेरै निक्षेप बैंक वित्तीय संस्थामा आउने उनको अनुमान छ । ‘सहकारीबाट निकालिएर आफ्नो बैंकमा आएको निक्षेप लगभग आधा अर्ब रुपैयाँ भएको र बार्षिक १२ प्रतिशतका दरले नघट्ने गरी ब्याज दिने शर्तमा सहकारीबाट निकालेर बैंकमा राखिएको थियो ।’ – उनले भने ।
सहकारी अभियानले भने बैंक वित्तीय संस्थाले सहकारी संस्थालाई काउण्टर दिन व्याज बढाइरहेको आरोप लगाएका छन । बैंकलाई तरलता अभाव बहाना मात्रै भएको अभियानको भनाई छ । ‘बैंक वित्तीय क्षेत्रले निरन्तर सहकारीको प्रगतिमा तगारो हाल्ने काम गरिरहेको छ ।’ सहकारी अभियानका एक अगुवाले भने– ‘त्यसको निरन्तरता व्याज बृद्धि हो ।’ नेपाल राष्ट्र बैंकले बैंकका गभर्नरले वित्तीय क्षेत्रमा तरलता अभाव नभएको भाषण गरेर हिडिरहेको अवस्थामा बैंकहरुको तरलता अभाव कृतिम भएको उनको बुझाई थियो ।
सहकारी अभियानका अर्का एक अगुवाले विगतको स्मरण गर्दै भने– ‘अन्तरिम संविधानमा सहकारीलाई मुलुकको महत्वपूर्ण खम्बा मध्येको एक खम्बाको रुपमा राख्दा समेत बैंक वित्तीय क्षेत्रले विरोध गरेको थियो ।’ बैंक वित्तीय क्षेत्र लामो समयदेखि सहकारीको पिछा लागिरहेको उनको आरोप थियो । सहकारीको घरदैलो कार्यक्रम देखि ब्याजदर काउण्टर समेत यसैको उदाहरण भएको उनको बुझाई छ ।
अनुत्पादन क्षेत्रमा बढी लगानी गरेकोले बैंक वित्तीय क्षेत्र तथा सहकारी क्षेत्रले अहिले तरलता अभावको व्यहोरिरहेको केही सहकारीको बुझाई छ । केही सहकारीले तरलताको अभाव व्यहोर्नु पर्ने परे पनि धेरै सहकारीले सदस्य र समुदायको मन जितेको हुनाले बजारको तरलता अभावमा समेत सहकारीलाई कुनै असर नपरेको बताउँछन् । ‘जुन–जुन सहकारी संस्थाहरुले समुदाय प्रति चासो राख्दै सदस्यहरुको विश्वास कमाउन सफल भएको छन् त्यस्ता संस्थाहरु कहिल्यै तरलताको अभावको महशुस गर्नु परेको छैन ।’ ललितपुर बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष समेत रहेका स्वागतम् बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष जगत मान महर्जनले भने– ‘सहकारी प्रति विश्वास नभएकाले भन्दा पनि हाल बजारमा बैंकहरुले लगानी बन्द गरेका हुनाले कुनै–कुनै सदस्यहरुले निक्षेप निकालेका हुन ।’ यसलाई स्वभाविक भन्दै उनले सहकारी क्षेत्रमा खासै तरलता अभाव नभएको बताए ।
‘केही सहकारी संस्थाहरुको निक्षेप लिन बैंक सफल भएका होलान् ।’ संघका उपाध्यक्ष महर्जनले भने– ‘समग्ररुपमा बैंकरहरुको सहकारीको निक्षेप लिने रणनीति मात्र हो ।’ ब्याजदर उस्तै भएपनि आम सदस्यहरु सहकारी क्षेत्रमै आकर्षित र विश्वस्त भएको उनको भनाई थियो । समग्ररुपमा सहकारी क्षेत्र नितान्त रुपमा सुरक्षित उनले दाबी गरे ।
सदस्यको विश्वास जित्दै समय अनुकुलको व्याजदर निर्धारण गर्न सके सहकारीलाई तरलताको अभाव कहिल्यै झेल्नु नपर्ने झापामा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत बताउछन् । बैंकहरु भन्दा सहकारी संस्थाहरु अब्बल रहेको उनको बुझाई छ । अहिले बैंक वित्तीय क्षेत्रले निक्षेपको लागि सहकारीको मुख ताक्नुले पनि यो कुराको पुष्टि गरिदिएको उनको भनाई छ ।
वित्तीय बजार अनुसार बचतको व्याजदर निर्धारण हुन नसके सहकारीको बचत वाहिरने भन्दै सचेत हुन सहकारीका अगुवाहरुले सहकारी सञ्चालकहरुलाई खवरदारी गरिरहेका छन ।
यसैबीच धेरै बैंकहरुले निक्षेपका लागि सहकारी संस्थाहरुमा धाइरहेका बुझिएको छ । विगत केही महिना देखि नेपालको वित्तीय क्षेत्रले तरलताको अभाव झेलिरहेका छन् । यो अभाव अझै केही महिना जारी रहने विश्लेषकहरुले अनुमान लगाउँदै आएको छ ।