३ चैत, काठमाडौँ । साताको अन्तिम दिन बिहीवार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । बिहीवार सेयर बजार १ दशमलव २१ अंकले उकालो लागेर १ हजार ३ सय ५७ दशमलव ३४ अंकमा पुगेर बन्द भएको हो ।
कारोबारमा आएका अधिकांस समूह नकारात्मक रहेपनि वाणिज्य बैंक तथा विमा समूह उकालो लागेपछी समग्र बजार सकारात्मक बनेको हो । यसदिन दिन बीमा ३३, बैंकिङ समुह १ दशमलव ३१ र अन्य समुह १ दशमलव १६ अंकले उकालो लागेको छ । यता जलविद्युत,होटल, विकास बैंक र फाइनान्स समुह भने क्रमशः १३ दशमलव ८७,६ दशमलव ८३, १ दशमलव ७३ र ० दशमलव ०८ अंकले ओरालो लागेको छ ।
दिनभरिमा कुल १ सय ३६ कम्पनी कारोवार भएको बजारमा १३ लाख ४६ हजार कित्ता सेयर ५३ करोड ७३ लाख बराबरमा खरिदबिक्री भएका छन् । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम १७ करोडले बढेको छ । बजार एक अंकले बढ्दा यसदिन लगानीकर्ताको सम्पत्ति दुई अर्बले बढेको छ । बुधबार १५ खर्ब ३७ अर्ब रहेको बजार पूँजीकरण विहीबार १५ खर्ब ३९ अर्ब नाघेको छ ।
बिहीवार बैंक अफ काठमाडौं लुम्बिनीको सवैभन्दा बढी ७ करोड १२ लाखको संस्थापक सेयरको कारोवार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १० लाख बराबरको कारोवार भएको छ । क्रेडिट एण्ड कर्मश बैंकको पनि झण्डै पाँच करोड बढीको कारोबार भएको छ ।