१ चैत, काठमाडौं । मङ्गलवार सेयर बजार ८ दशमलव १४ अङ्कले घटेको छ । बजार खुलेको केही समयमा परिसूचक ५ अङ्क बढ्न सफल भई १ हजार ३ सय ६० विन्दुमा पुग्न सफल भए पनि अन्तिम १ घण्टामा नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशतले घटेर १ हजार ३ सय ४७ दशमलव शून्य ९ विन्दुमा पुगेर बजार बन्द भयो ।
सेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । सोमबार बजार बढ्दा पनि घटेको कारोबार मंगलबार भने १७ करोड रुपैयाँले बढेको हो । सोमबार ३५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ५२ करोड ८५ लाख ८६ हजार दुई सय २८ रुपैयाँको कारोबार भएको छ । १३७ वटा कम्पनीको नौ लाख ४५ हजार दुई सय २८ कित्ता सेयर तीन हजार चार सय १७ पटक खरिदविक्री भएका बजार ८ दशमलव १४ अङ्कको गिरावटसँगै बन्द भयो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर सेयरको कारोबार ह्वात्तै बढेपछि समग्र कारोबार रकममा वृद्धि देखिएको हो । मंगलबार मात्रै यो बैंकको प्रोमोटर सेयरको २१ करोड नौ लाख ९७ हजार एक सय ९४ रुपैयाँको कारोबार भएको छ । यसबाहेक, एसियन लाइफ इन्स्योरेन्स र सानिमा बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको क्रमशः एक करोड ९२ लाख, एक करोड ५९ लाख, एक करोड ५५ लाख र एक करोड २६ लाखको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक, शिखर इन्स्योरेन्स लगायतको ८५ लाखमाथिको कारोबार भएको छ ।
उत्पादनमूलक समूहबाहेक मंगलबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ११.७२, २७.२, १.४९, १०.४७, २.२, ५.६६ र १.७३ अंकले घट्दा उत्पादनमूलक भने ४.६६ अंकले बढेको छ ।